बाढीपहिरोले देशभरका प्रमुख सडक प्रभावित
रसुवाका राजमार्ग पूर्ण अवरुद्ध
काठमाडौं : लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा बाढी तथा पहिरोले क्षति पुर्याएको नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख गरिएको छ। केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
रसुवाका मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीले अर्को सूचना जारी नभएसम्म ती सडक बन्द रहने जनाएको छ।
यसैगरी पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो जाँदा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
गण्डकी प्रदेशतर्फ बाढीका कारण बेंसीसहर हुँदै खाङसार जाने मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा छ।
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो गएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। बेनी–दरबाङ सडकको बेनी नगरपालिका–४ घुमाउने भिरमा पनि पहिरोका कारण सडक अवरुद्ध छ।
मुस्ताङमा जोमसोम–कोरला सडकखण्ड अन्तर्गत थासाङ गाउँपालिका–४ काब्रेभिर र लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ मा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ सेल्फीडाँडा/घुमाउरीघाटमा सडक एकतर्फी सञ्चालनमा छ। बौदीकाली गाउँपालिका–३ जन्ती पहिरो क्षेत्रमा पनि सडक एकतर्फी सञ्चालनमा रहेकाले ठूला सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन।
यता, कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–१ मुसेडी र सर्केगाड गाउँपालिका–६ स्यालतडीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, सिमकोट–हिल्सा सडकखण्ड अन्तर्गत नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ।
हेर्नूहोस् सूची:


.gif)

.png)


