नारायणीले बगाएको गैँडा सुस्तामा भेटियो


२०८३ असोज १२ सोमबार १६:०० बजे

काठमाडौं : नारायणीको भेलले चितवनबाट बगाएको एउटा गैँडा सीमापारि पुग्ने बाटोमा सुस्ता पुगेको छ। करिब पाँच वर्षको गैँडा सोमबार बिहान नवलपरासी पश्चिमको सुस्ता–४ मा देखिएपछि अहिले चितवन राष्ट्रिय निकुञ्जको टोली त्यसको पछिपछि छ। 

गैँडालाई सुरक्षित रूपमा चितवन फर्काउन भारतको बाटोसमेत प्रयोग गर्नुपर्ने भएको छ। निकुञ्जले गैँडाको रेकी गरिरहेको छ भने उद्धारका लागि भारततर्फबाट पनि सहजीकरण भइरहेको छ।

गैँडालाई डार्ट गरी बेहोस बनाएर डुङ्गा वा भारतीय भूभाग हुँदै चितवन ल्याउने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए। ‘गैँडाको रेकी भइरहेको छ। उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ,’ उनले भने।

शनिबार र आइतबार आएको ठूलो बाढीमा नारायणी नदीको तटीय क्षेत्रबाट गैँडा बगेको निकुञ्जको भनाइ छ। बाढीको बहाव ठूलो भएकाले केही गैँडा भारतसम्मै पुगेको हुन सक्ने अनुमान गरिएको छ।

२०७४ सालको ठूलो बाढीमा पनि राप्ती र नारायणीबाट बगेका १२ गैँडा सुस्ता हुँदै भारतीय भूमिमा पुगेका थिए। त्यतिबेला भारतीय भूमिबाटै उनीहरूको उद्धार गरी नेपाल ल्याइएको थियो।

यसपटक राप्तीको मेघौली, खैरहनीलगायत क्षेत्रमा बगेका केही गैँडा भने आफैँ नदीबाट उत्रिएका छन्। बाढीमा भरतपुर–१७ शिसुवारबाट एउटा मृगसमेत उद्धार गरिएको छ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७