गैंडाकोटका ११० घरधुरीका ४ सय जना विस्थापित
नवलपरासी : नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२ स्थित बोटेटोल बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।
तीन दिनदेखिको लगातार वर्षापछि नदीको पानी बस्तीमा पस्न थालेसँगै स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा स्थानान्तरणलाई प्राथमिकता दिएका हुन्। आइतबार बिहान बाढी बस्तीमा पसेपछि ११० घरधुरीका करिब ४ सय स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
उनीहरूलाई महेन्द्र आधारभूत विद्यालय तथा आफन्तका घरमा स्थानान्तरण गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
बाढीको पानी बस्तीमा पस्न थालेपछि स्थानीयवासीका घरभित्र रहेका सरसामानसमेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। उद्धार तथा स्थानान्तरणका क्रममा हालसम्म मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाले नारायणीसहित आसपासका नदी तथा खोलामा पानीको सतह बढेकाले तटीय क्षेत्रका बासिन्दामा जोखिम बढेको छ। बोटेटोलका स्थानीयलाई समयमै सुरक्षित स्थानमा सारिएपछि सम्भावित क्षति टार्न सहयोग पुगेको स्थानीय प्रशासनको भनाइ छ।
यता वर्षाकै कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने क्षेत्रमा पहिरो खसेपछि यातायात एकतर्फी सञ्चालन भइरहेको छ। वर्षा नरोकिए थप पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले राजमार्ग र नदी आसपासका क्षेत्रमा सतर्कता अपनाइएको छ।
.gif)

.png)


