नेपालमा बनिरहेको तटबन्ध रोक्न हतियारसहित सुस्ता छिरे भारतीय प्रहरी
काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्को रोष्ट्रमबाट ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएको २४ घण्टा नबित्दै नवलपरासीको सीमावर्ती नेपाली भूमि सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र प्रहरी हतियारसहित प्रवेश गरेको छ।
भारतीय सुरक्षाकर्मीहरूले सुस्तास्थित नारायणी नदी किनारमा भइरहेको तटबन्ध निर्माणको काम समेत जबरजस्ती रोकेका छन्। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले हिजो आइतबार साँझ नै भारतीय प्रहरी सुस्ता छिरेर निर्माण कार्य रोकेको पुष्टि गरेका छन्।
गाउँपालिका अध्यक्ष उपाध्यायका अनुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा विनियोजित बजेटबाट त्यहाँ १४ करोड रुपैयाँको ठेक्कापट्टा मार्फत विगत दुई-ढाई महिनादेखि तटबन्ध निर्माणको काम चलिरहेको थियो। तटबन्ध रोक्ने भारतीय कदमप्रति आपत्ति जनाउँदै उनले भने, ‘हिजो साँझ भारतीय प्रहरी आएर काम रोके भन्ने खबर पाएको छु। दशगजा नहुँदा उनीहरू नेपालीलाई दुःख दिन खोज्छन्, सुस्ता नदीले बगाएर लैजाओस् भन्ने उनीहरूको भावना जस्तो देखिन्छ।’
अध्यक्ष उपाध्यायले तटबन्ध निर्माणको कामलाई पुनः सुचारु गर्न र नेपाली भूमिमा अनधिकृत रूपमा प्रवेश गरेका भारतीय प्रहरीलाई फिर्ता पठाउनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत प्रयास भइरहेको जानकारी दिएका छन्।
भारतीय सुरक्षाकर्मीहरू स्थानीय जनप्रतिनिधि र नागरिकहरूसँग कुरै गर्न तयार नभएको बताउँदै उनले यो विषय माथिल्लो राजनीतिक र कूटनीतिक लेभलबाटै समाधान हुनुपर्ने र हाल प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले यस विषयमा समन्वय गरिरहेको बताएका छन्।
.gif)

.png)


