संसदमा हर्क साम्पाङको प्रश्न : सुस्तामा नेपाली धम्क्याइँदा रक्षामन्त्री कहाँ छन् ?

‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो । हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं’


२०८३ जेठ २९ शुक्रबार ११:५८ बजे

काठमाडौं :  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्ता क्षेत्रमा भारतीय सीमा बलले नेपाली नागरिकमाथि अभद्र व्यवहार र हप्कीदप्की गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडिएको यस्तो संवेदनशील विषयमा पनि सरकार उदासीन बनेको आरोप लगाए। उनले सुस्तामा नेपालीहरू आफ्नै भूमि रक्षाका लागि सङ्घर्ष गरिरहँदा राज्य संयन्त्र मौन बस्नु दुःखद भएको टिप्पणी गरे।

बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै नेता साम्पाङले यस विषयमा तत्काल जवाफ दिन रक्षामन्त्रीको माग गरे। उनले सभामुखसँग रुलिङको माग गर्दै भने, 'यस्तो गम्भीर परिस्थितिमा नेपालका रक्षामन्त्री कहाँ छन् ? प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई नै रोष्ट्रममा बोलाइदिनुस्, हामी उहाँसँग दुई-चारवटा महत्त्वपूर्ण प्रश्न सोध्न चाहन्छौँ।' उनले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली दाजुभाइमाथि धाकधम्की दिइरहेका भिडियोहरू सार्वजनिक भइरहँदा पनि सरकार मूकदर्शक बनेको भन्दै आपत्ति जनाए।

सांसद राईले देशको सिमाना र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व बोकेको नेपाली सेनालाई सीमा क्षेत्रमा परिचालन गर्न कुन बाधा अड्चनले रोकिएको भन्दै सरकारसँग स्पष्टीकरण समेत मागेका छन्। आफ्नै भूमिमा नेपालीहरू असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्यका लागि सीमामा सेना बस्न नहुने कुन त्यस्तो अप्ठ्यारो परिस्थिति छ, त्यसको पारदर्शी जानकारी संसद्लाई दिनुपर्ने अडान उनले राखे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७