२०औँ एसियाली गेमः स्वर्णको लक्ष्य बोकेकी एरिका सेमिफाइनलमै रोकिइन्
नागोया : जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा कराँतेतर्फ स्वर्ण पदकको अपेक्षा गरिएकी नेपालकी एरिका गुरुङ सेमिफाइनलमै रोकिएकी छन्। आइतबार नागोयामा भएको महिला ६८ केजीमाथिको सेमिफाइनलमा एरिका कजाखस्तानकी बेरुल्टसेभा सोफ्यासँग २–१ ले पराजित भइन्। एरिकाले युकोमार्फत एक अंक जोड्दा सोफ्याले दुई अंक हासिल गर्दै खेल आफ्नो पक्षमा पारिन्।
यसअघि एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। एरिकाले युकोमा एक र वाजा अरीमा तीन अंक जोडेकी थिइन् भने याराले युकोमार्फत एक अंक मात्र हासिल गरेकी थिइन्। सेमिफाइनलमा पराजित भए पनि एरिकाले कास्य पदक पक्का गरेकी छन्।
गत जुनमा इन्डोनेसियाको बालीमा सम्पन्न २२औँ एसियन सिनियर कराँते च्याम्पियनसिपमा याराले रजत र एरिकाले कास्य पदक जितेका थिए। २२ वर्षीया एरिकाबाट नेपालले यसपटक स्वर्ण पदकको अपेक्षा गरेको थियो। एरिकाले यसअघि १९औँ एसियाड, प्रिमियर लिग र एसियन च्याम्पियनसिपमा रजत पदक जितिसकेकी छन्।
नेपालका राकेश मानन्धर पनि पुरुष कुमुते ५५ केजीमुनिको सेमिफाइनलमा पराजित भएका छन्। नागोयाको तोयोहासी जिम्न्यासियम हलमा भएको खेलमा राकेश उज्बेकिस्तानका खालिमोभ खुमोयुन्मिर्जासँग ७–० ले पराजित भए। खालिमोभले युकीमा दुई तथा वाजा र इप्पोनमा समान एक अंक जोड्दा राकेशले कुनै अंक हासिल गर्न सकेनन्। यसअघि राकेशले थाइल्यान्डका इन्ग्लोय नाथक्रितलाई ९–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए।
त्यस्तै, नेपालका मिनबहादुर तामाङ पनि पुरुष कुमुते ६० केजीमुनिको सेमिफाइनलमा कुवेतका साहव अब्दुल्लाहसँग १०–१ ले पराजित भए। सेमिफाइनलमा पुगेका कारण उनले भने कास्य पदक पक्का गरिसकेका छन्। यसअघि प्रिक्वार्टरफाइनलमा मिनबहादुरले हङकङका हिम चाउलाई ४–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
एसियाली खेलकुदको कराँते कुमुतेतर्फ नेपालबाट राकेश मानन्धर (५५ केजीमुनि), मिनबहादुर तामाङ (६० केजीमुनि), तेन्जिङ शेर्पा (८४ केजीमाथि), निरुपा डोङ तामाङ (६८ केजीमुनि) र एरिका गुरुङ (६८ केजीमाथि) सहभागी छन्।
.gif)

.png)

