रमा आलेमगर मन्त्री नियुक्त भएसँगै बागमती सरकार पूर्ण
हेटौँडा : बागमती प्रदेश सरकारमा रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। नेकपाबाट मन्त्री बनेकी आलेमगरले शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
मुख्यमन्त्री किरण थापामगरको उपस्थितिमा प्रदेश प्रमुख देवकोटाले आलेमगरलाई शपथ गराएका थिए। यसअघि मन्त्रालयको जिम्मेवारी विभाजन गरिए पनि कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीकै मातहतमा रहेको थियो। आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले पनि नेतृत्व पाएको हो।
आलेमगर यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुदमन्त्री भइसकेकी थिइन्। उनी काठमाडौँ क्षेत्र नम्बर १० (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको विवरण सार्वजनिक भएको छ।
बागमती प्रदेशमा हाल नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सत्ता साझेदारी रहेको छ। प्रदेश सरकारले मन्त्रालयको संख्या आठमा सीमित गरेको छ।
.gif)

.png)

