प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब उद्धार कोषमा जम्मा गरिने


२०८३ भदौ १२ शुक्रबार १३:२९ बजे
तस्बिरः प्रधानमन्त्री शाहको सचिवालय

काठमाडौं : प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। मन्त्रिपरिषद् बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

निर्णयअनुसार भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्नेछन्। बाढीपछि सरकारले उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी संयन्त्र परिचालन गरिरहेको छ।

यसैबीच सरकारी कर्मचारीको तलबबाट समेत निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ। संघीय सरकारका कर्मचारीको हकमा तहअनुसार दुईदेखि १० दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरिएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले समेत बाढी प्रभावितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार कोषमा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, विभिन्न संघसंस्था र व्यक्तिहरूबाट समेत सहयोग जुट्ने क्रम जारी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७