बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु, ३ गम्भीरसहित ११ जना घाइते
रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–६, कोकोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर र आठ जना सामान्य घाइते भएका छन्। आइतबार बिहान सानीभेरी गाउँपालिका–६ स्थित डाँगडुङ्गी मोडमा लु १ च ६०२९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुन रहेका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा तीन जनाको अवस्था गम्भीर छ भने आठ जना सामान्य घाइते भएका छन्।
गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लैजान सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वयका लागि पत्राचार गरेको जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
.gif)

.png)

