भीमफेदी दुर्घटनामा घाइते न्यायाधीशसहित चार जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो
हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कार्पियो दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ स्थित जुरिखेतमा दुर्घटनामा परेको थियो । दुर्घटनामा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका थिए ।
दुर्घटनामा मुख्य न्यायाधीश डाँगी (५७), रजिष्ट्रार बैतडी दशरथचन्द–७ सुर्कालका तारादत्त बडु (५१), उनकी पत्नी लक्ष्मी बडु (४९), छोरा रितेन्द्र बडु (२५), दिदी रिता बडु (३१) र चालक दाङ राप्ती–८ का छुनिलाल चौधरी (३२) घाइते भएका हुन् ।
घाइतेमध्ये रजिष्ट्रार बडु र चालक चौधरीबाहेक न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।
रजिष्ट्रार बडु र चालक चौधरीको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
.gif)

.png)

