देशभरका सडक प्रभावित, कोशीदेखि गण्डकीसम्म यातायात अवरुद्ध
काठमाडौं : बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा कतै पूर्णरूपमा यातायात रोकिएको छ भने कतिपय स्थानमा एकतर्फी तथा समय तोकेर सवारी सञ्चालन गरिएको छ। कोशी प्रदेशमा पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास पहिरो खसेपछि फिदिम–फालेलुङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशमा सडक अवरोधको प्रभाव बढी देखिएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ। उक्त खण्डमा १० टनसम्मका मालवाहक सवारी रातिको समयमा सञ्चालन गर्न दिइने तथा मिनी र साना सार्वजनिक यात्रुवाहक सवारीलाई तोकिएको समयमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ। नुवाकोटका विभिन्न स्थानमा पनि बाढी तथा पहिरोले सडक अवरुद्ध बनाएको छ। मुख्य राजमार्गसँगै पासाङल्हामु सडकखण्डमा समेत यातायात प्रभावित भएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। पहिरोको जोखिमलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरिएको हो। धादिङमा पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोको असर परेको छ। बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध छ भने सोही गाउँपालिकाका अन्य स्थानमा पहिरोका कारण सडक एकतर्फी सञ्चालन भइरहेको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सडक मर्मत भइरहेकाले सवारीको चापअनुसार एकतर्फी आवागमन सञ्चालन गरिएको छ। त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरोका कारण अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
गण्डकी प्रदेशमा मनाङको नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा बाटो निर्माणका कारण सवारी आवागमन प्रभावित भएको छ। सडक विभागका अनुसार उक्त खण्डमा साना सवारी सञ्चालन बन्द रहने तथा ठूला सवारीका लागि समेत तोकिएको समयसम्म सडक बन्द रहने व्यवस्था गरिएको छ।

.gif)

.png)

