‘रिचार्ज काठमाडौं’ अभियान चलाउँदै महानगर
सहरी बाढीको जोखिम घटाउने योजना
काठमाडौं : काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढी अर्थात् ‘अर्बन फ्ल्यास फ्लड’को जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी सङ्कलन गरी जमिनमा पुनर्भरण गर्ने उद्देश्यले महानगरले अभियान अघि बढाउन लागेको हो।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले थोरै वर्षा हुँदा पनि काठमाडौंमा बाढी आउने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन समाधान खोज्न थालिएको बताइन्। डंगोलका अनुसार करिब तीन दशकअघि सहरी क्षेत्रमा जथाभाबी गरिएको विकास तथा संरचना निर्माणका कारण अहिले ‘अर्बन फ्ल्यास फ्लड’को समस्या बढेको हो। ‘पहिले पानी पर्दा आनन्दले निद्रा लाग्थ्यो, तर अहिले पानी पर्न थालेपछि चैनसँग सुत्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘मध्यरातमै पनि नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू विपद् आइपर्दा फिल्डमा जान स्ट्यान्डबाइ बस्नुपर्ने अवस्था छ।’
सहरी बाढीको समस्या समाधानका लागि महानगरले दीर्घकालीन उपायबारे अध्ययनसमेत गरिरहेको छ। तर, अध्ययनको प्रतिवेदन मात्र कुरेर नबस्ने र तत्काल गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्ने उद्देश्यले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाइएको डंगोलले बताइन्। अभियानअन्तर्गत वर्षाको पानी सङ्कलन गर्ने, जमिनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापनलाई प्राथमिकता दिइने महानगरले जनाएको छ। तत्काल गर्न सकिने कामबाट सुरुवात गर्दै काठमाडौंलाई बाढीको जोखिमबाट सुरक्षित र व्यवस्थित बनाउने दिशामा महानगर अघि बढेको डंगोलले स्पष्ट पारिन्।
.gif)

.png)

