लोकसङ्गीतमा नयाँ अभ्यास : प्रकाश दुतराजले बनाए १२ सदस्यीय ब्यान्ड


२०८३ भदौ २८ आइतबार ०७:५८ बजे

म्याग्दी : चर्चित लोकगायक प्रकाश दुतराजले आफ्नै जन्मथलो म्याग्दीबाट लोकसङ्गीतमा नयाँ अभ्यासको सुरुआत गरेका छन्। उनले १२ जना कलाकार सम्मिलित ‘दुतराज प्रकाश एन्ड लाइनअप’ नामक ब्यान्ड सार्वजनिक गरेका हुन्।

बेनीको खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा दुतराजको नेतृत्वमा रहेको ब्यान्ड सार्वजनिक गरिएको हो। मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएका दुतराजले आफूले नेपालमै पहिलो लोकसङ्गीत ब्यान्डको अवधारणा अघि सारेको दाबी गरे। विभिन्न विधाका वाद्यवादक तथा प्राविधिकलाई समेटेर लोकसङ्गीतमा नयाँ प्रयोग गर्दै दर्शकमाझ पुग्ने अभियान जन्मथलोबाटै सुरु गरेको उनले बताए।

अब आफ्ना सांगीतिक प्रस्तुति ट्रयाकमा मात्रै सीमित नरहने दुतराजको भनाइ छ। ब्यान्डका कलाकार र मौलिक वाद्यवादनसहित प्रत्यक्ष प्रस्तुति दिने तयारी उनले गरेका छन्। ‘करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना’ जन्मथलोबाटै पूरा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै उनले ब्यान्डमार्फत नेपाली मौलिक बाजालाई विश्वभर चिनाउने आफ्नो उद्देश्य रहेको बताए।

ब्यान्डमा वाद्यवादनसहित १२ कलाकार सहभागी छन्। ब्यान्डले नेपालका विभिन्न स्थानमा सांगीतिक टूर गर्ने तयारीसमेत गरिरहेको जनाएको छ। दुतराजका ‘मनमाया’, ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’ र ‘ऐना झ्यालैमा’ लगायत गीत चर्चित छन्। यसअघि भदौ १२ गते जनैपूर्णिमाका अवसरमा आयोजना गर्ने भनिएको कार्यक्रम रसुवामा आएको बाढीका कारण स्थगित भएको थियो। म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले दुतराजको गायनयात्रालाई प्रोत्साहन गर्न सङ्घले साथ दिएको बताए।

दुतराजको ब्यान्डको प्रस्तुति हेर्न म्याग्दीका साथै बागलुङ र पर्वतबाट समेत दर्शक बेनी पुगेका थिए। प्रवेश निःशुल्क गरिएको कार्यक्रममा सिमसिमे पानीका बीच पनि दर्शकले दुतराजको प्रस्तुतिमा नाच्दै मनोरञ्जन लिएका थिए। प्रस्तुतिअघि दुतराजले आफ्नो संघर्षका दिन तथा सांगीतिक यात्रामा साथ दिने व्यक्तिहरूलाई सम्झिँदै आगामी योजनामा पनि दर्शक तथा शुभेच्छुकको साथ र सहयोगको अपेक्षा गरेका थिए। कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई म्याग्दी उद्योग वाणिज्य सङ्घका तर्फबाट सम्मानसमेत गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७