प्रधानसेनापति सिग्देल आज चीन जाँदै, सुरक्षा सहकार्यबारे छलफल हुने
काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देल आइतबार चीन भ्रमणमा जाँदैछन्। उनी एयर चाइनाको जहाजमार्फत बिहान ११ बजे छेन्दु प्रस्थान गर्ने भएका छन्।
प्रधानसेनापति बनेपछि सिग्देलको यो पहिलो चीन भ्रमण हो। यसअघि गत भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा हुने सैनिक एकाइसम्बन्धी कार्यक्रममा सहभागी हुन उनको भ्रमण स्वीकृत भएको थियो। तर जेनजी आन्दोलनपछि उक्त भ्रमण स्थगित भएको थियो।
यसपटकको करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध तथा सुरक्षा सहकार्यका विषयमा छलफल हुने नेपाली सेनाका स्रोतले जनाएको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच ‘सगरमाथा फ्रेन्डसीप’ नामक संयुक्त सैन्य अभ्यास हुँदै आएको छ।
यस वर्ष पनि उक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला प्रधानसेनापति सिग्देल चीन भ्रमणमा जान लागेका हुन्। यद्यपि, प्रधानसेनापति सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले हालसम्म औपचारिक घोषणा गरेका छैनन्।
.gif)

.png)

