१३औँ बेइजिङ स्याङसान फोरममा सहभागी हुन प्रधान सेनापति चीन प्रस्थान
काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन्। चीनको निमन्त्रणामा उनी असोज ३ गतेसम्म चीन भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने ‘१३औँ बेइजिङ स्याङसान फोरम’मा सहभागिता जनाउने कार्यक्रम छ।
चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले प्रधान सेनापति सिग्देललाई बिदाइ गरेका थिए। यसअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो। भ्रमणबाट नेपाल–चीन सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्। प्रधान सेनापति बनेपछि सिग्देलको यो पहिलो चीन भ्रमण हो। यसअघि नै चीन भ्रमणको निम्तो आए पनि गत वर्ष भएको जेनजी आन्दोलनका कारण भ्रमण स्थगित भएको थियो।
.gif)

.png)

