हात हल्लाएर ट्राफिक नियन्त्रण गर्ने दिन अन्त्य गरौँ : आईजीपी कार्की
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारीसाधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई–सक्षम सिसिटिभीलगायत आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए।
‘सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ,’ उनले भने। उनले एआई–सक्षम सिसिटिभीसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन तथा समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।
कार्कीले नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य आवश्यक रहेको बताए। आवश्यकताअनुसार प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउन, कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्न र सवारीसाधन तथा विपद् उद्धारका सामग्री उपलब्ध गराउन उनले स्थानीय तहलाई आग्रह गरे। उनले सिसिटिभी जडान तथा विस्तार र जनचेतनामूलक कार्यक्रममा समेत स्थानीय तहसँग सहकार्य आवश्यक रहेको बताए।
आईजीपी कार्कीले नागरिकलाई सफा सडक र अवरोधमुक्त फुटपाथ प्रयोग गर्ने वातावरण बनाउन काठमाडौं महानगरपालिकाले गरिरहेको कामको प्रशंसा गरे। फोहोरमैला व्यवस्थापनमा उत्पादन स्थलदेखि अन्तिम व्यवस्थापन स्थलसम्म चुनौती रहेकाले यसको प्रभावकारी समाधान खोज्नुपर्ने उनले बताए। महानगरसँगको सहकार्यमा आगामी दिनमा फुटपाथ तथा पार्किङ व्यवस्थापन र आपत्कालीन प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा पनि उनले व्यक्त गरे।
.gif)

.png)

