एनपीएल फाइनलमा फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुने भएको छ । लगातार दोस्रो सिजन यी दुई टोली फाइनलमा आमनेसामने हुन लागेका हुन् ।
बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको हो । सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ ।
गत सिजनको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । यस पटक पनि उपाधि भिडन्तमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुने भएपछि लुम्बिनी उपाधि रक्षा गर्ने र सुदूरपश्चिम पुरानो हारको बदला लिने लक्ष्यमा हुनेछन् ।
लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोडेर दोस्रो भएको थियो । पहिलो क्वालिफायरमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो, जसमा लुम्बिनीले एकपक्षीय जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
पहिलो क्वालिफायरमा पराजित भएपछि दोस्रो अवसर पाएको सुदूरपश्चिमले चितवनलाई हराएर फाइनलमा पुनः लुम्बिनीसँग भिड्ने मौका पाएको हो ।
यस सिजन लुम्बिनी र सुदूरपश्चिमबीच अहिलेसम्म दुई खेल भएका छन् । दुवै खेलमा लुम्बिनी विजयी भएको छ । फाइनलमा यी दुई टोलीबीच यस सिजनको तेस्रो भिडन्त हुनेछ ।
सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा पनि पुगेको थियो । त्यतिबेला जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिमले यस पटक तेस्रो फाइनलमा उपाधि जित्ने लक्ष्य राखेको छ ।
.gif)

.png)




