चोलेन्द्र पक्राउ र भोटेकोशी बाढीबारे श्रम संस्कृतिले माग्यो प्रधानमन्त्रीसँग जवाफ


२०८३ असोज १२ सोमबार १२:०३ बजे
फाइल फोटो

काठमाडौं : श्रम संस्कृति पार्टीले सरकारको पछिल्लो कार्यशैली र विभिन्न समसामयिक घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष जवाफ मागेको छ। 

प्रतिनिधि सभाको सोमबारको बैठकमा पार्टीका तर्फबाट सांसद ध्रुवराज राईले सभामुखसँग समय मागेर सरकारसँग जोडिएका सातवटा विषय उठाए।

उनले लामो समयदेखि प्रधानमन्त्रीको जवाफ पर्खिरहेको भन्दै अब प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर स्पष्ट पार्नुपर्ने बताए। राईले सबैभन्दा पहिले प्रधानमन्त्रीले संसद्मा कहिले आएर सांसदका प्रश्नको जवाफ दिने भन्ने विषय उठाए।

त्यसपछि गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको जनधनको क्षतिबारे सरकारको कामकारबाहीबारे जानकारी मागे। उनले पछिल्लो समय बाढी तथा पहिरोका कारण भएको मानवीय क्षतिबारे समेत प्रधानमन्त्रीको जवाफ आवश्यक रहेको बताए।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। घटनामा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ।

त्यसैगरी सांसद राईले राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालको पक्राउ प्रकरणबारे पनि प्रश्न उठाए। दाहाललाई पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले समेत लिखित कारण पेस गर्न आदेश दिएको सन्दर्भ उल्लेख गर्दै उनले सरकारको धारणा मागे।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः छाडेको घटनाबारे पनि राईले सरकारसँग स्पष्टीकरण मागे। जबरालाई कुन कसुर र कुन आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक नभएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी दिनुपर्ने बताए।

‘घरि भरत दाहाल पक्राउ, गर्‍यो छोड्यो । घरि चोलेन्द्रशमशेर पक्रियो, छोड्यो,’ उनले भने, ‘विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला । होइन भने सरकारले यो कुन हिसाबले काम गरिरहेको छ ?’

सांसद राईले नागरिकमा बढ्दै गएको निराशा र पछिल्लो समय भएका आत्मदाहका घटनालाई समेत संसद्मा उठाए। त्रिपुरेश्वर क्षेत्रमा सुरक्षाकर्मी तथा नियमनकारी निकायसँगको विवादपछि भएका आत्मदाहका घटनाले राज्यका निकायप्रति नागरिकको असन्तुष्टि र निराशा बढेको संकेत गरेको उनको भनाइ थियो।

उनले नागरिकले राज्यबाट न्याय र सहज व्यवहारको अनुभूति गर्न नसक्दा यस्ता गम्भीर घटना दोहोरिन थालेको भन्दै सरकारको जवाफ मागे।

अन्तिम विषयका रूपमा उनले संसद्को भूमिका र गरिमामाथि प्रश्न उठाए। संसद्को गरिमा बढाउन सरकारले के योजना अघि सारेको छ भन्नेबारे प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग्दै उनले पछिल्लो अवस्थाले संसद्लाई समेत अवमूल्यन गर्ने वातावरण बनेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

सांसद राईले उठाएका यी विषयमा प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने श्रम संस्कृति पार्टीको माग छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७