बाढीपछि रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
रसुवा : गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।
बाढीले जिल्लाका चार विद्यालय भवन पूर्ण रूपमा ध्वस्त पारेको शिक्षा विकास तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालले जानकारी दिए।
पूर्ण क्षति भएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।
सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५ जना, मालिकादेवी आधारभूत विद्यालयका ११ जना, मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका ८ जना र चिप्लेटी आधारभूत विद्यालयका १ जना रहेको सिलवालले जानकारी दिए।
बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीको पठनपाठन भने वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गरिएको छ। चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँका विद्यालयमा पठाइएको छ।
त्यस्तै, मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी माध्यमिक विद्यालय भलायडाँडामा तथा मोडर्न ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माध्यमिक विद्यालयमा बसोबाससहित पठनपाठनको व्यवस्था मिलाइएको छ।
बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए। नौकुण्ड गाउँपालिकामा भने भदौ ११ गतेदेखि नै पठनपाठन सुरु गरिएको थियो।
.gif)

.png)


