नुवाकोटका ३०० बाढीपीडित परिवारलाई फरवार्ड माइक्रोफाइनान्सको राहत


२०८३ असोज ४ आइतबार २०:०१ बजे

नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका करिब ३०० परिवारलाई खाद्यान्नसहित विभिन्न राहत सामग्री उपलब्ध गराइएको छ। पूर्वमन्त्री भगबती चौधरीको पहलमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नेशनल भोलेन्टियर्सको समन्वयमा बाढीपीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो।

विदुर नगरपालिका–५ का ४१ परिवारसहित वडा नं. १ लगायतका प्रभावित क्षेत्रका करिब ३०० परिवारलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको जनाइएको छ। राहत सामग्रीमा चामल, ब्ल्याङ्केट, सरसफाइका सामग्री, कित्ली तथा दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्री छन्। होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारका लागि समेत राहत सामग्री उपलब्ध गराइएको छ।

आवश्यकताका आधारमा ती सामग्री प्रभावित परिवारसम्म पुर्‍याइने जनाइएको छ। राहत वितरण तथा प्रभावित क्षेत्रको अवलोकनमा पूर्वमन्त्री चौधरीसँगै फरवार्ड माइक्रोफाइनान्सको टोली र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी सहभागी थिए। टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्नुका साथै पीडित परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको समस्या र तत्कालीन आवश्यकताबारे जानकारी लिएको थियो। 

बाढीपीडित स्थानीयले विपद्पछि आफ्नो व्यवस्थापन तथा पुनर्स्थापनाका लागि सरकारले अपेक्षाअनुसार पहल नगरेको गुनासो गरेका छन्। उनीहरूका अनुसार अहिले अस्थायी आवासदेखि खाद्यान्न, कपडा तथा दैनिक जीवनमा आवश्यक सामग्रीसम्म सामाजिक संघसंस्था र स्वयंसेवी समूहको सहयोगमा जुटिरहेको छ। बाढीले घर तथा सम्पत्तिमा क्षति पुर्‍याएपछि विस्थापित भएका परिवारका लागि तत्काल राहतसँगै सुरक्षित र स्थायी बसोबासको व्यवस्था प्रमुख आवश्यकता रहेको पीडितहरूले बताएका छन्।

पीडित परिवारको अवस्था तथा गुनासो सुनेपछि पूर्वमन्त्री चौधरीले सरकारले उपयुक्त जग्गा उपलब्ध गराए बाढीपीडितका लागि केही घर निर्माण गर्न आवश्यक पहल र समन्वय गर्ने बताइन्। उनले विपद्पछिको राहत वितरणमा मात्र सीमित नभई प्रभावित परिवारलाई सुरक्षित आवाससहित दीर्घकालीन रूपमा पुनर्स्थापित गर्नुपर्नेमा जोड दिइन्। बाढीबाट विस्थापित परिवारको अस्थायी बसोबास सहज बनाउन थप ५०० थान टेन्ट केही दिनभित्र वितरण गर्ने तयारी गरिएको छ। उक्त टेन्ट पनि नेशनल भोलेन्टियर्सलगायत सम्बन्धित पक्षको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पुर्‍याइने जनाइएको छ।

यसअघि फरवार्ड माइक्रोफाइनान्सले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारको राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग गरेको थियो। सरकारको राहत कोषमा आर्थिक सहयोग गरेपछि पनि संस्थाले प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न प्रत्यक्ष रूपमा राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको हो। 

बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्नेसँगै सुरक्षित आवास र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार, स्थानीय तह, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा स्वयंसेवी समूहबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७