भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति


२०८३ कार्तिक २१ शनिबार २१:२२ बजे

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले उनीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो।

मन्त्रीस्तरीय निर्णयअनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। त्यसपछि थप लाभग्राहीको पहिचान गरी क्रमशः विभिन्न चरणमा छात्रवृत्ति उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रालयले यसअघि नै ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरेर अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाइसकेको छ। अब उच्च शिक्षामा समेत छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय गरिएको हो।

मन्त्री पोखरेलले पहिलो चरणमा २७ विद्यार्थीले छात्रवृत्ति पाउने र त्यसपछि थप विद्यार्थीलाई चरणबद्ध रूपमा समेटिने जानकारी दिए।

निर्णयअनुसार निजी विद्यालयमा अध्ययनरत बालबालिकाको अभिलेख शिक्षा विभागले राख्नेछ। त्यसका लागि सम्बन्धित विद्यालयका छाता संस्था र स्थानीय तहलाई पत्राचार गरिनेछ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा भने सम्बन्धित स्थानीय तहसँग समन्वय गरिने मन्त्रालयले जनाएको छ।

उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय र क्याम्पसमा उपलब्ध नियमित छात्रवृत्ति कोटामा थप गरी समावेश गर्न पनि निर्देशन दिइएको छ। यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाइनेछ।

यो निर्णय कार्यान्वयनमा आएपछि भोटेकोशी बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानले विषयको छनोटमा बन्देजबिना उच्च शिक्षासम्म निःशुल्क अध्ययनको अवसर पाउनेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७