रत्नायकेको ४९ रनमा चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनल प्रवेश

खेर गयो मलानको ७१ रन


२०८३ मङ्सिर ३ बिहीबार २१:०७ बजे
तस्बिरः नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : थरिन्दु रत्नायकेको निर्णायक ब्याटिङमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रो संस्करणमा उपाधि भिडन्तमा पुगेको हो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार भएको खेलमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । अब सुदूरपश्चिमले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि संघर्ष गरेको सुदूरपश्चिमलाई थरिन्दु रत्नायकेले अन्तिमसम्म टिकेर जित दिलाए । उनले अविजित ४९ रन बनाउँदै टोलीको इनिङ्स सम्हालेका थिए ।

सुदूरपश्चिमले चौथो ओभरमा पहिलो विकेट गुमाएको थियो । जर्ज मन्से १५ बलमा ८ रन बनाएर आउट भए । उनलाई चितवनका रिजन ढकालले आउट गरे । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा अग्रस्थानमा रहेका ढकालको यो १७औँ विकेट हो ।

४.४ ओभरमा विनोद भण्डारी पनि आउट भए । आक्रामक ब्याटिङ गरेका उनले १३ बलमा २३ रन बनाए । उनलाई रन्जित कुमारले आउट पारे । पावरप्लेमा सुदूरपश्चिमले २ विकेट गुमाएर ४१ रन बनाएको थियो ।

स्कट कुगुलेइन ४ बलमा २ रन बनाएर आउट भए । ईशान पाण्डेले ९ बलमा १० रन जोड्दा उनलाई पनि रन्जित कुमारले पभेलियन पठाए ।

१० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५८ रन बनाएको सुदूरपश्चिमलाई जितका लागि बाँकी १० ओभरमा ७६ रन आवश्यक थियो । कप्तान दीपेन्द्रसिंह ऐरी १६ बलमा १५ रन बनाएर आउट भएपछि टोली थप दबाबमा परेको थियो ।

१५.५ ओभरमा आरिफ शेख १० बलमा १० रन बनाएर आउट भए । त्यसपछि रत्नायकेले एक छेउ सम्हाल्दै टोलीलाई जितसम्म पुर्‍याए ।

चितवनका रन्जित कुमारले २ विकेट लिए । सलाउद्दिन खान, उसामा मिर, कमल सिंह ऐरी र रिजन ढकालले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । डाविड मलानले ७१ रनको अविजित पारी खेल्दै चितवनलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए ।

चितवनले पहिलो ओभरमा ११ रन बनाए पनि १.३ ओभरमा कामिल मिशारा ४ रनमा आउट भए। उनलाई स्कट कुगुलेइनले आउट गरे। तेस्रो ओभरमा देव खनाल पनि ९ बलमा ६ रन बनाएर कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए।

तेस्रो नम्बरमा आएका मलानले एक छेउ सम्हाल्दै रन जोड्न थाले। ५.४ ओभरमा कप्तान रवि बोपारा ८ बलमा १ रन बनाएर आउट भए। उनलाई हेमन्त धामीले आउट गरे। चितवनले पावरप्लेमा ३ विकेट गुमाएर ३२ रन बनाएको थियो।

विवेक यादव ११ बलमा ३ रन र कुशल मल्ल ५ बलमा १ रन बनाएर आउट भए। उसामा मिरले ५ बलमा २ रन मात्रै जोड्दा चितवन ११.३ ओभरमा ६ विकेट गुमाएर दबाबमा परेको थियो।

त्यसपछि सलाउद्दिन खानले १५ बलमा १८ रन जोड्दै मलानलाई साथ दिए । मलानले ३९ बलमा अर्धशतक पूरा गर्दै अन्तिमसम्म ब्याटिङ गरे ।

उनले ५१ बलमा ९ चौका र २ छक्कासहित ७१ रन बनाए । कमल सिंह ऐरीले ७ बलमा १० रन बनाएर आउट भए ।

सुदूरपश्चिमका स्कट कुगुलेइनले सर्वाधिक ३ विकेट लिए। थरिन्दु रत्नायकेले २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे र हेमन्त धामीले एक–एक विकेट लिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७