जो हर्क साम्पाङलाई साथ दिन लाहुरबाट फर्किए

हर्क साम्पाङको अभियानलाई साथ दिन लाहुरबाट फर्किएका यी लाहुरे, जो ‘लो प्रोफाइल’मा बसेर साम्पाङका प्रमुख अभियानमा ‘फिल्ड कमिसार’को भूमिका निर्वाह गरिरहेका छन्।


२०८३ भदौ २३ मंगलबार १८:२७ बजे

पूर्वी पहाडतिर उक्लिनुअघि भेटिने शहर हो धरान। समयसँगै यो शहरको परिचय फेरिँदै आएको छ। कुनै समय धरानको परिचय थियो ‘लाहुरेहरूको शहर।’ भर्ती भएर फर्किएपछि उनीहरूको रोजाइ बन्थ्यो धरान। घर बनाउने, परिवार बसाउने र बाँकी जीवन बिताउने थलोका रूपमा धरान लाहुरेहरूको आकर्षणको केन्द्र थियो।

विशेषगरी ब्रिटिस गोर्खा सैनिकहरूको बाक्लो बसोबास रहेको धरानसँग लाहुरे जीवन जोडिएका असंख्य सम्झना र इतिहास छन्। घरका भित्तामा टाँसिएका सैनिक पोसाकका तस्बिरदेखि गल्ली–गल्ली सुनिने पल्टनका कथा, धरानको सामाजिक जीवनमा लाहुरे इतिहास गहिरोसँग मिसिएको थियो।

तर समय फेरियो। ब्रिटिस गोर्खा सैनिकहरूले बेलायतमा आवासीय अधिकार पाएपछि धरानका धेरै लाहुरे परिवार बेलायततिर लागे। उनीहरूले बनाएका घरहरू धरानमै रहे, तर घर बनाउने मानिसहरू विस्तारै परदेशिए। धरानमा लाहुरेहरूको इतिहास बाँकी रह्यो, सम्झना बाँकी रह्यो, तर शहरको परिचय भने बिस्तारै फेरिन थाल्यो।

अहिले धरानलाई अर्को नामले चिनाउन थालिएको छ, श्रम संस्कृतिको शहर। यो परिचय बदल्ने नेता हुन्, धरान उपमहानगरपालिकाका पूर्व मेयर श्रम हर्क साम्पाङ। हाल श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद साम्पाङले मेयर बनेपछि साम्पाङले विकासलाई केवल सरकारी बजेट, ठेक्का र योजनाको कागजसँग जोडेनन्। उनले नागरिकको श्रम र सहभागितालाई विकासको आधार बनाउन खोजे। खानेपानीदेखि पार्क निर्माणसम्म नागरिक आफैं श्रमदानमा जोडिन थाले।

धरानका विभिन्न ठाउँमा अहिले पनि श्रमदान गरिरहेका मानिसहरू भेटिन्छन्। कोही ढुंगा बोकिरहेका हुन्छन्, कोही माटो खनिरहेका हुन्छन्, कोही पाइप तानिरहेका हुन्छन्। त्यही श्रमदानको बीचमा एउटा गीत पनि घन्किन्छ : 

देश आफैं बन्दैन गाली गर्दै अरूलाई,
हातेमालो गरौँ आजै सच्चाएर आफैंलाई।
श्रम गरौँ कर्म गरौँ कसको हेर्नु आश,
अरू कोहीले बचाउँदैनन् हाम्रो देशको श्वास।

त्यही गीतमा नाच्दै धरानमा खानेपानीका आयोजना बनेका छन्। श्रम संस्कृति पार्क बनेको छ। श्रम चौतारी पार्क बनेको छ। ज्येष्ठ नागरिकका लागि पार्क बनाउने अभियान चलेको छ। पछिल्लो पुस्ताको भावनालाई समेट्दै जेनजी पार्क निर्माणको काम अघि बढेको छ। हर्क साम्पाङको यो अभियानमा चुपचाप र बेहिसाब साथ दिने धेरै छन् । 

तीमध्ये एक हुन्, भोजपुरका प्रसाद राई। लाहुरे बन्नुअघि राष्ट्रिय खेलाडी प्रसादको कथा आफैंमा फरक छ। भारतीय गोर्खा सैनिकमा भर्ती हुनुअघि उनी तेक्वान्दोका राष्ट्रिय खेलाडी थिए। खेलकुदकै पृष्ठभूमिबाट भारतीय गोर्खा पल्टनमा पुगेपछि पनि लामो समय उनले खेलकुदमै काम गरे। त्यसपछि उनको यात्रा भारतीय सेनाको कमाण्डो समूहसम्म पुग्यो।

कमाण्डोका रूपमा उनले कठिन सैन्य तालिम र जोखिमपूर्ण जिम्मेवारी सम्हाले। पछि उनी कमाण्डो प्रशिक्षक बने। भारतीय सेनाका सैनिकलाई मात्रै होइन, नेपाली सेना लगायत विभिन्न देशका सैनिकलाई समेत उनले तालिम दिए। जसको जीवनको ठूलो हिस्सा अनुशासन, जोखिम र कठोर सैन्य प्रशिक्षणमा बित्यो, उसैको जीवनमा एक दिन अर्को किसिमको ‘मिसन’ सुरु भयो। त्यो मिसन थियो, माटोको।

कोकाहाबाट साथ

प्रसादको धरानसँगको सम्बन्ध बाक्लिँदै गएको थियो। भारतीय पल्टनमा रहे पनि उनी धरान आउने–जाने गरिरहन्थे।त्यही बेला धरानमा हर्क साम्पाङको श्रम अभियान सुरु भयो। साम्पाङले धरानको खानेपानी समस्या समाधान गर्न कोकाहा खोलाबाट पानी ल्याउने अठोट गरे। शहरमा बसेर योजना बनाउनेभन्दा उनी आफैं मानिसहरूसँग जंगल जाने, भीर चढ्ने र पाइप बोक्ने काममा लागे।

प्रसाद त्यो दृश्य टाढाबाट हेरिरहेका थिए। एउटा मेयर—सरकारी कार्यालयको कुर्सीमा होइन, जंगलको भीरमा। त्यही दृश्यले उनलाई तान्यो। त्यतिबेला प्रसाद भारतीय सेनामै कार्यरत थिए। सेवा अवधि बाँकी नै थियो। तर बिदा मिलाएर उनी कोकाहा खानेपानी अभियानमा सहभागी हुन धरान आए। ४२ किलोमिटर लामो जंगलको बाटो हुँदै पाइप तान्नुपर्ने थियो। बाटोमा घना जंगल थियो, भीर थियो, पहिरो थियो। कतै पाइप बोकेर हिँड्नसमेत कठिन थियो।

प्रसाद पनि त्यही भीडमा थिए। उनी सम्झिन्छन्, 'उहाँको त्यो समर्पण र इमानदारिता देखेर प्रभावित भएँ। म कोकाहा–१ बाटै जोडिएँ।' कोकाहाको पानी केवल पाइप जोडेर आएको थिएन। त्यसका लागि ४२ किलोमिटर जंगल छिचोलिएको थियो। भीर काटिएको थियो। पहिरो पार गरिएको थियो। मानिसहरूले आफ्नै शरीरको शक्ति खर्च गरेका थिए।

करिब ९८ दिनपछि पानी धरान आइपुग्यो। त्यो क्षणमा हर्क साम्पाङ रोए। तर त्यो आँसु देख्ने प्रसाद पनि भावुक भए। उनी भन्छन्, 'त्यो भीर, जंगल, पहिरो काटेर पानी ल्याउने अभियानमा हर्क साम्पाङज्यू खटेको देख्दा मलाई पटक–पटक सम्मानले आँसु आएको थियो।'

प्रसादका अनुसार शहरमा बसेर हेर्दा ‘हर्क साम्पाङले पानी ल्याए’ भन्न सजिलो छ। तर ४२ किलोमिटरको त्यो बाटोमा पुगेपछि मात्रै थाहा हुन्छ—पानीको प्रत्येक थोपा कति पसिनाबाट आएको थियो। 'त्यो अप्ठ्यारो बाटोमा पुग्ने जो कोही रुन्छन्,'  उनी भन्छन्।

कोकाहा–१ सकिएपछि कोकाहा–२ सुरु भयो। प्रसाद फेरि त्यही अभियानमा जोडिए। पल्टनबाट बिदा मिल्थ्यो, उनी धरान आइपुग्थे। अरू मानिसजस्तै श्रम गर्थे। पाइप तान्थे। बाटो बनाउँथे। जहाँ आवश्यक पर्थ्यो, त्यहीँ पुग्थे।

धरान–२० को पकुवा खोलाबाट पानी संकलन गरी पाइपमार्फत धरान–११ स्थित पानी ट्यांकीसम्म पुर्‍याउने अभियानमा पनि उनी सहभागी भए। निशाने, पकुवा लगायतका अभियानमा उनको निरन्तर सहभागिता रह्यो। करिब १ लाख ६६ हजार जनसंख्या भएको धरानमा दैनिक सरदर ३ करोड लिटर खानेपानी आवश्यक पर्ने बताइन्छ। नियमित आपूर्तिबाट करिब डेढ करोड लिटर पानी मात्रै उपलब्ध हुने अवस्था थियो। विभिन्न स्रोतबाट थप पानी ल्याउने प्रयास भइरहेका थिए।

साम्पाङको नेतृत्वमा श्रम अभियानबाट थप पानीका स्रोत विकास हुँदै गए। विभिन्न स्रोतबाट थपिएको पानीसँगै कोकाहाबाट करिब १३ लाख लिटर पानी थपिने अवस्थामा पुगेको थियो। तर प्रसादका लागि त्यो संख्या मात्रै थिएन। उनका लागि त्यो आफ्नै हातले तानेको पाइपबाट धरानका घरमा पुगेको पानी थियो।

हर्क साम्पाङको श्रम अभियान पानीमा मात्र रोकिएन। श्रम संस्कृति पार्क निर्माण भयो। धरान र धराने समाजको सभ्यता तथा संस्कृतिसँग सम्बन्धित संरचना र प्रतीकहरू निर्माण गरिए।

श्रम चौतारी पार्क निर्माणको अभियान अघि बढ्यो। ज्येष्ठ नागरिकका लागि भेटघाट, मनोरञ्जन र सामाजिक गतिविधि गर्न सकिने ठाउँ बनाउने उद्देश्यसहित पार्क निर्माणको काम थालियो। जेनजी पुस्तालाई लक्षित गरेर पार्क निर्माणको काम पनि अघि बढ्यो। यी सबै अभियानमा प्रसाद सकेसम्म जोडिए। कहिले श्रमिकका रूपमा। कहिले नेतृत्वमा। कहिले आवश्यक ठाउँमा सहयोगीका रूपमा। तर उनको नाम भने प्रायः अगाडि आएन। उनी काम गरिरहे।

लाहुरमा जागिर बाँकी थियो, तर उनी फर्किए

भारतीय सेनामा उनको सेवा अवधि अझै बाँकी थियो। अगाडि सुरक्षित जागिर थियो, सैनिक जीवनको स्थापित परिचय थियो, कमाण्डो प्रशिक्षकको अनुभव थियो र भविष्यको बाटो पनि स्पष्ट थियो। तर धरानमा उनले अर्को कुरा देखेका थिए, मानिसहरू आफ्नै हातले आफ्नो शहर बनाइरहेका थिए। त्यो दृश्यले उनलाई भित्रैदेखि छोयो। अन्ततः उनले बीचमै फर्किने निधो गरे। समय छँदै पल्टनबाट फर्किए, हर्क साम्पाङको अभियानलाई साथ दिन।

उनी लाहुरबाट फर्किए, तर आराम गर्न होइन। माटोमा पसिना बगाउन फर्किए। सैनिक जीवनमा प्रसादको हातले हतियार बोकेको थियो। कमाण्डोका रूपमा उनले कठिन परिस्थितिमा बाँच्न र लड्न सिके, अरू सैनिकलाई पनि त्यही सिकाए। तर अब उनको हातमा बन्दुक थिएन, कोदालो थियो। पाइप थियो। निर्माण सामग्री थियो। उनको नयाँ मिसनमा कुनै युद्ध थिएन, कुनै शत्रु थिएन। थियो त केवल एउटा प्रश्न,  'आफ्नो समाजका लागि आफूले के गर्न सक्छु ?'  हर्क साम्पाङको अभियानले उनलाई त्यही प्रश्नको उत्तर खोज्न लगाएको थियो।

माया धराने : श्रमबाट उत्पादनतिर

साम्पाङको अभियान विस्तार हुँदै जाँदा श्रमलाई उत्पादनसँग जोड्ने प्रयास पनि सुरु भयो। त्यही क्रममा ‘माया धराने’ ब्रान्ड अघि आयो। धरान–२०, भञ्ज्याङमा ‘माया धराने बेसार उद्योग’ सञ्चालनमा आयो। स्थानीय किसानले उत्पादन गरेको बेसार स्थानीय स्तरमै प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने उद्देश्य राखिएको थियो। नेपालमा स्थानीय सरकारको पहिलो उद्योगका रूपमा दाबी गरिएको उक्त उद्योग उपभोक्ता समिति र धरान उपमहानगरपालिकाको संयोजनमा सुरु गरिएको थियो।

उद्योगको नेतृत्व गर्ने जिम्मेवारी प्रसादले पाए। धरान उपमहानगरपालिकाबाट १६ लाख ५० हजार रुपैयाँ र उपभोक्ताबाट २ लाख ८ हजार ६ सय ११ रुपैयाँ लगानी भएको उक्त उद्योगले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास गर्‍यो। ‘माया धराने’ बेसार धरानमा मात्रै सीमित रहेन। यूके, हङकङ, जापान, अमेरिका, पोल्यान्ड, कोरियालगायतका देशमा रहेका नेपालीसम्म यसको माग पुग्न थाल्यो। धरान आउनेहरूका लागि पनि यो कोसेली बन्न थाल्यो।

प्रसादका लागि यो श्रमको अर्को रूप थियो। उनका लागि श्रम भनेको केवल पाइप तान्नु वा पुल बनाउनु मात्र थिएन। किसानले माटोमा पसिना बगाएर उत्पादन गरेको वस्तुलाई प्रशोधन गर्नु, त्यसलाई बजारसम्म पुर्‍याउनु र स्थानीय उत्पादनको मूल्य बढाउनु पनि श्रमकै अर्को रूप थियो। कहिले काँधमा पाइप बोकेर जंगल उक्लिएका प्रसाद अहिले किसानको उत्पादन बोकेर बजार खोजिरहेका थिए। पल्टनमा सिकेको अनुशासन, कमाण्डोमा सिकेको नेतृत्व र श्रमदानबाट सिकेको सामूहिकताको अनुभवलाई उनी अब उत्पादनसँग जोडिरहेका थिए।

दार्चुला पुलको पनि नेतृत्व

त्यसपछि प्रसादको यात्रा धरानबाट धेरै टाढा पुग्यो, दार्चुला। २०८२ साल चैत २४ गते हर्क साम्पाङले दार्चुलाको काठा दुम्लिङमा ७२ मिटर लामो झोलुङ्गे पुलको शिलान्यास गरे। पुल श्रमदानबाट बनाउने योजना थियो। फिल्डको नेतृत्व फेरि प्रसादले सम्हाले।

करिब ८५ दिन उनी त्यहीँ रहे। काम गरे। श्रम गरे। पसिना बगाए। उनको शरीरमा त्यही श्रमदानको टिसर्ट हुन्थ्यो, जसलाई स्थानीय रूपमा ‘हर्के टिसर्ट’ भनिन्थ्यो। एउटा दिन होइन, दुई दिन होइन—लगातार ८५ दिन त्यही टिसर्ट। पुल पूरा भएपछि मात्रै उनले त्यो टिसर्ट फेरे।

८५ दिनपछि काठा दुम्लिङमा ७२ मिटर लामो पुल उभियो। त्यो पुल फलाम र डोरीले मात्रै बनेको थिएन। त्यसमा ८५ दिनको पसिना थियो। स्थानीय मानिसहरूको श्रम थियो। प्रसादको नेतृत्व थियो। र त्यसमा हर्क साम्पाङको एउटा विश्वास थियो, सरकारले मात्रै होइन, नागरिकले पनि आफ्नो ठाउँ बनाउन सक्छन्।

पुल बनेको दिन प्रसादका लागि फेरि आँसुको दिन बन्यो। हर्क साम्पाङसँगै उनी पनि रोए। त्यो आँसु केवल पुल बनेको खुसीको थिएन। त्यसमा ८५ दिनको थकान थियो, संघर्षको सम्झना थियो र आफूले विश्वास गरेको एउटा काम आफ्नै आँखाअगाडि पूरा भएको सन्तोष थियो।

प्रसादको विशेषता यही हो—उनी हर्क साम्पाङको अभियानका सबैभन्दा ठूलो आवाज होइनन्। मञ्चमा उभिएर भाषण गर्नुभन्दा उनी फिल्डमा उभिएर काम गर्ने मान्छे हुन्। क्यामेराको अगाडि भन्दा कामको ठाउँमा भेटिन्छन्। नामभन्दा कामलाई अगाडि राख्छन्। सायद त्यसैले उनको कथा धेरैपटक सार्वजनिक चर्चामा आउँदैन।

तर जहाँ कठिन काम हुन्छ, त्यहाँ प्रसाद पुग्छन्। कोकाहाको भीरमा उनी थिए। पकुवाको पानी अभियानमा थिए। श्रम संस्कृति पार्क निर्माणमा थिए। ‘माया धराने’को उत्पादन अभियानमा थिए। दार्चुलाको पुलमा पनि उनी थिए।

धरानको इतिहासमा लाहुरेहरूको योगदान ठूलो छ। पूर्वी पहाडका गाउँबाट लाहुर गएका धेरै युवाले धरानलाई आफ्नो घर बनाए। उनीहरूले शहरको आर्थिक र सामाजिक स्वरूप निर्माण गर्न महत्वपूर्ण भूमिका खेले। तर प्रसाद राईको कथा त्यही लाहुरे इतिहासको एउटा फरक अध्याय हो।

उनी पनि लाहुर गए। सैनिक बने। कमाण्डो बने। प्रशिक्षक बने। तर अन्ततः फर्किए। अरू धेरै लाहुरेहरू बेलायततिर लागिरहेका बेला उनी भने बाँकी सेवा अवधि छँदै पल्टनबाट फर्किए। उनको फर्काइ केवल घर फर्काइ थिएन। त्यो एउटा अभियानतिरको फर्काइ थियो।

हर्क साम्पाङको अभियानबारे बहस आफ्नै ठाउँमा छ। कसैले यसलाई श्रम संस्कृतिको नयाँ अभ्यास भन्छन्, कसैले यसको शैली र राजनीतिक प्रभावमाथि प्रश्न गर्छन्। तर प्रसाद राईको कथा त्यो बहसभन्दा अलि पर उभिन्छ। उनले कुनै पदका लागि यो बाटो रोजेका होइनन्।

कुनै सुविधा पाउने आशाले पनि होइन। पहिले उनले टाढाबाट हेरे। त्यसपछि बिदा मिलाएर आए। काम गरे। बारम्बार फर्किए। अन्ततः सेवा अवधि बाँकी हुँदाहुँदै पल्टन छाडे।

कुनै समय उनी भारतीय सेनाका कमाण्डो थिए। आज उनी श्रम संस्कृतिको अभियानमा छन्। हिजो उनको हातमा बन्दुक थियो, आज कोदालो छ। हिजो उनले सैनिकलाई कठिन परिस्थितिका लागि तयार पार्थे, आज उनी मानिसहरूसँगै समाज बनाउन पसिना बगाइरहेका छन्।

र उनको आँखाबाट झर्ने आँसुको कथा पनि उस्तै छ, कोकाहाको भीरमा हर्क साम्पाङलाई काम गरिरहेको देख्दा झरेको आँसु, ९८ दिनपछि पानी धरान आइपुग्दा झरेको आँसु र ८५ दिनपछि दार्चुलाको पुल उभिँदा झरेको आँसु। ती आँसु कमजोरीका थिएनन्। ती श्रमप्रतिको सम्मानका आँसु थिए। आफूले विश्वास गरेको कामप्रतिको प्रेमका आँसु थिए। र सायद, एउटा मान्छेले आफ्नो जीवनको एउटा हिस्सा माटोलाई सुम्पिने निर्णय गरेको प्रमाण पनि थिए।

धरानले आफ्नो पुरानो ‘लाहुरेहरूको शहर’को परिचय विस्तारै बदलिरहेको छ। त्यो परिवर्तनको अगाडि हर्क साम्पाङ छन्। तर त्यसको पछाडि प्रसाद राईजस्ता धेरै चुपचाप पसिना बगाउने हातहरू पनि छन्। प्रसाद त्यही हातमध्ये एक हुन्, जसले लाहुरबाट फर्किएर आफ्नो माटो रोजे, नामभन्दा काम रोजे र बन्दुक बोकेको हातले कोदालो समाते।

उनै प्रसादसँगको पोडकाष्ट : 

 

लेखक चिनारी

राजेश राई
राई नयाँ पेजका प्रधान सम्पादक हुन् । लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७