सहकारीमा पैसा छैन, अदालतमा न्याय छैन, अस्पतालमा उपचार छैन : हर्क साम्पाङ
‘सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भयो’
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकार जनताको अपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालयको नेतृत्वसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको भन्दै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाएका हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै साम्पाङले जनताका दैनिक जीवनसँग जोडिएका आधारभूत समस्यासमेत समाधान हुन नसकेको बताए। सहकारी पीडितले बचत फिर्ता नपाएको, न्यायालयबाट न्याय पाउने अवस्था कमजोर बनेको तथा अस्पतालमा सहज उपचार नपाउने अवस्था रहेको उनको भनाइ थियो।
‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन,’ साम्पाङले भने, ‘सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ। अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन।’
साम्पाङले मुलुकको सीमा सुरक्षा, शान्ति–सुरक्षा, मल तथा खाद्यान्नको सहज आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणलगायत विषयमा पनि सरकार प्रभावकारी बन्न नसकेको दाबी गरे।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले सुनसरीको रामधुनी–७ मा रहेको ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा छानबिन गरी स्थानीय बासिन्दालाई न्याय दिन माग गरे।
त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै साम्पाङले बचतकर्ताको रकम फिर्ता गराउन सरकारले ठोस पहल गर्नुपर्ने बताए।
विकास निर्माणतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए। सुनसरी–१ सहित देशभर रोकिएका विकास आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनको माग थियो।
सांसद साम्पाङले सरकारका कामकारबाहीलाई जनताको अपेक्षा र आवश्यकतासँग जोडेर हेर्नुपर्ने भन्दै राज्यका सबै निकायलाई आफ्नो संवैधानिक तथा प्रशासनिक जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरे।
.gif)

.png)

