हर्क साम्पाङको प्रश्न, ‘ठाउँ-ठाउँमा सेना गठन गर्ने छुट कसले दियो ?’

‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना’


२०८३ श्रावण १९ मंगलबार १४:५२ बजे

काठमाडौं :  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले नेपाली सेनाबाहेक अन्य कुनै पनि समूहलाई ‘सेना’ गठन गर्ने अधिकार नभएको बताए।

सुनसरी र मधेशका घटनाका क्रममा चर्चामा आएको हिन्दु सम्राट सेनाप्रति लक्षित गर्दै उनले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। ‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना। ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो ? यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु उनीहरूलाई निषेध गर्नुपर्छ,’ उनले भने।

राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्ति अझै पनि संसदको रेकर्डबाट नहटाइएको भन्दै सभामुख डोलप्रसाद अर्यालसँग जवाफ मागे। 'थुप्रै दिनदेखि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्छ भन्ने मागका साथ विरोध गरिरहेका छौँ। यो रेकर्डबाट पनि हटाइएको छैन,’ सभामुखलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेको छ भन्ने लागेको हो र हटाउनुभएको छैन कि के हो ? यहाँले पनि भनिदिनुहोला।’

उनले सरकारले जनप्रतिनिधिको आवाज नसुनेको आरोप लगाए। ‘हामी यहाँ आउँछौँ र बोल्छौँ। बोलेपछि सुन्नुपर्ने हो। सुनेपछि बुझेर सहमति हुनुपर्ने हो,’ राईले भने, ‘राज्य भनेको सहमति र सरसल्लाह हो।’

राईले आफूलाई जनकपुरस्थित जानकी मन्दिर प्रवेशमा अवरोध गरिएको विषय पनि संसदमा उठाए। ‘एउटा सांसदलाई आफ्नै देशमा निर्वाध घुमफिर गर्न पाउने अधिकार हुनुपर्छ,’ उनले भने, ‘जनकपुरमा एउटा समूहले निषेध गर्ने प्रयास गर्‍यो। यो कस्तो राज्य हो ? कानुनी राज्य हो कि जंगली राज्य हो ?’

उनले आफ्नो घरमा नआउन वा बाटो नहिँड्न भन्दै कसैलाई रोक्ने अधिकार नभएको बताए। ‘मेरो घरमा नआइज, मेरो घरको बाटो नहिँड भन्ने अभिव्यक्ति र व्यवहार भएको छ,’ उनले भने। उनले साउन ५ गते जनकपुर जाँदा श्रम संस्कृति पार्टीका कार्यकर्तामाथि कुटपिट भएको दाबी गर्दै गृहमन्त्रीसँग कारबाहीबारे प्रश्न गरे। ‘गृहमन्त्रीलाई फोन गरेर भनेँ। कारबाही भयो कि भएन ? हुन्छ कि हुँदैन ?’ राईले प्रश्न गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७