जब ड्युटीमै क्यासिनो पुगेका इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष पक्राउ परे
काठमाडौं : पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुखसमेत रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेलसहित आठ जना क्यासिनोबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई शनिबार (भदौ २०) राति वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिको क्यासिनोबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादव, इन्स्पेक्टर पौडेल, चन्दन सहनी, प्रकाश बैठा, क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साह छन्।
स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय पौडेल र पर्साको सखुवाप्रसौनी गाउँपालिकाका ३६ वर्षीय अध्यक्ष यादवलाई क्यासिनोबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए। नेपालका क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। तर, इन्स्पेक्टर पौडेल ड्युटीको समयमा सादा पोसाकमा क्यासिनो प्रवेश गरेको पाइएको पर्सा प्रहरी प्रमुख एवं एसपी पवन भट्टराईले बताए।
'इन्स्पेक्टर पौडेल इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज हुन्। तर, ड्युटी समयमै सादा पोसाकमा क्यासिनो छिरेको फेला परे,” एसपी भट्टराईले भने, “उनीहरू जुवा खेल्ने योजनाले नै त्यहाँ पुगेको देखिन्छ।' यस्तै, गाउँपालिका अध्यक्ष यादव सरकारी गाडी लिएरै क्यासिनो पुगेको पाइएको प्रहरीले जनाएको छ।
.gif)

.png)

