बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय छ : मुख्यमन्त्री थापामगर


२०८३ भदौ २२ सोमबार १६:१२ बजे
फाइल फोटो

काठमाडौं : बाढी तथा पहिरोका कारण बागमती प्रदेशका चार जिल्लाका १५ स्थानीय तहमा ठूलो क्षति पुगेको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।
रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारको हालसम्मको काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री किरण थापा मगरले रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह प्रभावित भएको जानकारी दिए। उनका अनुसार रसुवाका गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका सबैभन्दा बढी प्रभावित छन्। ती क्षेत्रमा मानवीय क्षतिसँगै पालिका कार्यालय, स्वास्थ्य चौकी, अस्पताललगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ। विपद्मा जनप्रतिनिधिले समेत ज्यान गुमाएको मुख्यमन्त्री थापाले बताए।
नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रभावित भएका छन्। त्यस्तै, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिकामा पनि बाढी तथा पहिरोले क्षति पुर्‍याएको प्रदेश सरकारले जनाएको छ। चितवनका केही स्थानीय तहसमेत प्रभावित भएका छन्। बाढीका कारण ६ वटा जलविद्युत् आयोजना प्रभावित हुँदा ६६२ मेगावाटभन्दा बढी विद्युत् उत्पादन अवरुद्ध भएको मुख्यमन्त्री थापाले जानकारी दिए। बाढीले सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको उनले बताए।
मुख्यमन्त्री थापाका अनुसार भदौ १० गते बिहान ८ः४६ बजे रसुवाको लेन्दे क्षेत्रमा हिमताल तथा हिमनदी फुटेर आएको बाढीले त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीका कारण स्याफ्रुबेँसी, टिमुरे, धुन्चे, बेत्रावती र बट्टारलगायतका क्षेत्रमा बस्ती तथा पूर्वाधार प्रभावित भएका थिए। विपद्को सूचना प्राप्त भएलगत्तै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धार तथा राहत अभियान अघि बढाइएको मुख्यमन्त्री थापाले बताए। उनी सोही दिन दिउँसो नुवाकोटको विदुरस्थित बट्टार पुगेर प्रभावित क्षेत्रको निरीक्षणमा समेत गएका थिए।
प्रभावितको उपचारका लागि प्रदेशअन्तर्गतका चार अस्पतालबाट १०० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जानकारी दिए। प्रभावित क्षेत्रमा तीनवटा स्वास्थ्य शिविर सञ्चालन गरी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रदेश सरकारको भनाइ छ। घरबारविहीन तथा परिवारका सदस्य गुमाएका नागरिकलाई चारवटा अस्थायी सेल्टरमा राखेर खाना र बसोबासको व्यवस्था गरिएको मुख्यमन्त्री थापाले बताए।
उद्धार तथा राहतलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको उनले जानकारी दिए। घाइते तथा जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने गरी काम भइरहेको उनको भनाइ छ। प्रदेश सरकारले तत्कालीन राहतसँगै प्रभावित क्षेत्रमा अस्थायी पूर्वाधार निर्माण तथा पुनःस्थापनाका कामलाई समेत अघि बढाउने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७