पछिल्लो बाढीपहिरोमा २१ जनाको मृत्यु

पाँच घाइते, पाँच बेपत्ता


२०८३ असोज ११ आइतबार २३:०१ बजे
अविरल बर्षासॅगै आईतबार गएको पहिरोका कारण गुल्मीको रेसुङ्गा नगरपालिका–३ स्थित उच्च जोखिममा परेको तल्लो भॅाडगाउॅको सिङ्गो गाउँ । तस्बिरः जनार्दन घिमिरे/रासस

काठमाडौं : भारी वर्षा, बाढी र पहिरोलगायत वर्षाजन्य विपद्मा परी देशभर २१ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा चार जनाको मृत्यु भएको छ । त्यस्तै, पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षाका ११७ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको हो । पछिल्लो विवरणअनुसार वर्षाजन्य विपद्मा २१ जनाको मृत्यु, पाँच जना घाइते र पाँच जना बेपत्ता भएका छन् ।

बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ । विपद्बाट ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । जोखिममा रहेका विभिन्न जिल्लाबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ ।

निरन्तर वर्षाका कारण देशभरका १८६ वर्षामापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमलव २ मिलिमिटर वर्षा भएको छ । कास्कीको पञ्चासेमा ५०० दशमलव २ र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रवक्ता महतका अनुसार भारी वर्षाका बेला करिब नौ हजार पर्यटक तथा पदयात्री विभिन्न स्थानमा यात्रारत थिए । जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा बाढी तथा पहिरोमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिएकालाई सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ ।

भारी वर्षाको पूर्वानुमानसँगै प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्दै नियमित सूचना तथा सतर्कता सन्देश जारी गरेको थियो । सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन बाढी पूर्वानुमान महाशाखाले आठ लाख १४ हजार एसएमएस पठाएको थियो ।

पर्वतारोहण तथा पदयात्रामा रहेका पर्यटकलाई लक्षित गरी अङ्ग्रेजी भाषामा समेत सतर्कता सूचना जारी गरिएको थियो । जोखिमयुक्त क्षेत्रमा रहेकालाई सुरक्षित स्थानमा जान र सुरक्षित स्थानमा रहेकालाई त्यहीँ रहन आग्रह गरिएको थियो ।

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक दैनिक बसेर अवस्थाको समीक्षा गरिएको थियो । जोखिम देखिएका जिल्लामा आवश्यकताअनुसार सवारी आवागमनमा रोक लगाउन निर्देशन दिइएको तथा सम्भावित प्रभावित जिल्लामा स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विद्यालय बिदा दिइएको प्राधिकरणले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७