ठमेलमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’, हुलिया बदलेर भाग्दै गर्दा समातिए शालीन
हुलिया बदले, बाटो बदल्न सकेनन्
काठमाडौं : ठमेलको भीडभाडमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी थालेको थियो। प्रहरीको खोजीबाट बच्न उनले आफ्नो हुलियासमेत परिवर्तन गरे। तर, हुलिया बदलेर उम्किने उनको प्रयास सफल भएन।
शनिबार जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले ३० वर्षीय शालीन साहलाई कलंकीस्थित तासिनडोलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार भिडियोमा साह लामो कपाल र दाह्री-जुँगासहित देखिएका थिए। पक्राउ पर्नुअघि भने उनले कपाल र दाह्री-जुँगा काटेर हुलिया परिवर्तन गरिसकेका थिए।
हुलिया फेरिए पनि प्रहरीको खोजी भने रोकिएन। अन्ततः उनी कलंकीमा फेला परे। ठमेलमा भदौ १८ गते भएको भनिएको घटनाको भिडियो केही दिनपछि सामाजिक सञ्जालमा सार्वजनिक भयो। भिडियोमा एक युवतीलाई ‘ब्याड टच’ गरिएको दृश्य देखिएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया जन्मायो।
भिडियो सार्वजनिक भएपछि घटनाबारे प्रहरीको ध्यानाकर्षण भयो। आरोपित युवकको पहिचान र खोजीका लागि प्रहरी सक्रिय भयो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले साह पक्राउ परेको पुष्टि गरे। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) को संयुक्त टोलीले साहलाई पक्राउ गरेको हो।
हुलिया बदले, बाटो बदल्न सकेनन्
प्रहरीका अनुसार पक्राउबाट बच्न साहले आफ्नो बाहिरी रूप नै परिवर्तन गरेका थिए। लामो कपाल काटे, दाह्री-जुँगा पनि हटाए। तर, अनुसन्धानमा केवल अनुहार र हुलिया मात्रै आधार हुँदैन। घटनासँग जोडिएका विवरण र उपलब्ध प्रमाणका आधारमा प्रहरीले उनको खोजी जारी राख्यो।
कलंकीस्थित तासिनडोलमा उनी फेला परे। प्रहरीका अनुसार उनी त्यहाँबाट भाग्ने तयारीमा रहेको अवस्थामा पक्राउ परेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको केही सेकेन्डको भिडियोले घटनालाई बाहिर ल्यायो। त्यही भिडियोबाट सुरु भएको पहिचान र खोजी अन्ततः आरोपित युवकको पक्राउसम्म पुग्यो।
पक्राउ गरिएका साहलाई मुद्दा चलाउने प्रयोजनका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको छ। तर, घटनास्थल ठमेल भएकाले थप अनुसन्धान प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) बाट हुने भएको छ। ठमेल क्षेत्र सोह्रखुट्टे प्रहरी वृत्तको कार्यक्षेत्रमा पर्छ। अब प्रहरीले घटनाको थप अनुसन्धान, पीडितको बयान, उपलब्ध भिडियो तथा अन्य प्रमाणको परीक्षण र कानुनी प्रक्रियालाई अघि बढाउनेछ। प्रहरीका अनुसार पीडित युवती पनि नेपाली नै हुन्।
.gif)

.png)

