बाढीपीडित व्यवसायीलाई कर-भन्सार छुट

भन्सार महसुल बुझाइसकेको तर भदौ १० गतेको बाढीका कारण गन्तव्यमा पुग्नुअघि नै वस्तु नष्ट भएको अवस्थामा व्यवसायीले राहत पाउने भएका छन्।


२०८३ भदौ १८ बिहीबार २०:१८ बजे

काठमाडौं :  भोटेकोसी बाढीबाट क्षति व्यहोरेका व्यवसायीलाई पुनःव्यवसाय सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले कर तथा भन्सार छुटसहितको पुनरुत्थान प्याकेज ल्याएको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट पूर्ण रूपमा क्षति भएका व्यावसायिक सवारीसाधन, मेसिनरी तथा उपकरणको प्रतिस्थापनमा विशेष सहुलियत दिने निर्णय गरेको हो।

निर्णयअनुसार बाढीले बगाएका वा मर्मत गरेर सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका व्यावसायिक सवारी तथा ढुवानी साधनको दर्ता खारेज गरी सोही प्रकृतिका नयाँ साधन आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल छुट दिइनेछ।

त्यस्तै, बाढीबाट पूर्ण रूपमा नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरणको हकमा पनि प्रतिस्थापनका लागि आयात गरिने सोही प्रकृतिका सामग्रीमा भन्सार छुटको व्यवस्था गरिएको छ। तर यस्तो आयात नष्ट भएको सामग्रीको परिमाणभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ।

यसैगरी, भन्सार कार्यालयमा महसुल बुझाइसकेको तर भदौ १० गते आएको बाढीका कारण गन्तव्यमा पुग्नुअघि नै वस्तु नष्ट भएको अवस्थामा व्यवसायीले राहत पाउने भएका छन्। त्यस्ता वस्तुको सट्टामा छ महिनाभित्र जुनसुकै भन्सार कार्यालयबाट सोही प्रकृतिको वस्तु आयात गर्दा यसअघि बुझाएको महसुल बराबरको रकम समायोजन गर्न सकिनेछ।

अर्थ मन्त्रालयका अनुसार अहिले घोषणा गरिएको सुविधा प्रारम्भिक चरणको पुनरुत्थान प्याकेज हो। बाढीबाट प्रभावित व्यवसायीलाई थप राहत र सहुलियत उपलब्ध गराउने गरी विस्तृत प्याकेजसमेत ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७