बेत्रावतीमा ११ दिनपछि भग्नावशेषबाट जीवितै उद्धार, बोल्ने र पानी पिउने अवस्थामा
नुवाकोट : त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरको भग्नावशेषमा पुरिएकी नुवाकोटको बेत्रावतीकी चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै उद्धार भएकी छन्।
विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आफ्नै घरको चौथो तलामा पुरिएकी श्रेष्ठलाई शनिबार सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो। उद्धारपछि उनले बोल्नसमेत सक्ने अवस्थामा रहेको र उद्धार टोलीले पानी खुवाउँदा पानी पिएको जनाएको छ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार श्रेष्ठको अवस्था बोल्न सक्ने रहेको छ। उद्धारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि भग्नावशेष हटाएर खोजी गर्दा श्रेष्ठलाई जीवितै फेला पारिएको हो।
सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले श्रेष्ठको उद्धार गरेको हो। उद्धारपछि टोलीले उनलाई पानी खुवाएको थियो। उनले पानी पिएपछि उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयमा थप उत्साह देखिएको थियो।
श्रेष्ठका श्रीमान् आनन्द श्रेष्ठका अनुसार उनी ५५ वर्षकी हुन्।
भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण बेत्रावतीसहित नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
बाढी र पहिरो आएको ११ दिनपछि घरको भग्नावशेषबाट श्रेष्ठ जीवितै फेला पर्नुलाई असाधारण उद्धार घटनाका रूपमा लिइएको छ।
.gif)

.png)

