त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, दुई जना जीवित निकालिए; एकको शव भेटियो

६० मिटर घिस्रिँदै उद्धारकर्ता सुरुङभित्र, खोजी जारी


२०८३ भदौ १९ शुक्रबार १३:३८ बजे

काठमाडौं : माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फको सुरुङमा फसेकाहरूको उद्धार कार्य तीव्र पारिएको छ। उद्धारका क्रममा अहिलेसम्म दुई जनालाई जीवितै बाहिर निकालिएको छ भने थप एक जनाको शव सुरुङबाट निकालिएको छ।

उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सप्तरीका सञ्जय साह र बालकुमारीका कविर महर्जन हुन्। उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल लगिएको छ। सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहितको टोलीले खोजी तथा उद्धार जारी राखेको छ।

गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित नेपाली सेनाको टोली थप व्यक्तिको उद्धारका लागि पावर हाउसतर्फ अघि बढेको छ। उद्धारका क्रममा सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहेको बताइएको छ। उद्धारकर्ताहरूले सुरुङको करिब ६० मिटर दूरीसम्म घिस्रिँदै अघि बढ्नुपर्ने अवस्था छ। त्यसपछि भने कुप्रिएर हिँड्न सकिने स्थान रहेको उद्धारकर्ताहरूले बताएका छन्।

सुरुङभित्र रहेका उद्धारकर्ता र बाहिरको टोलीबीच प्रत्यक्ष सञ्चार सम्पर्कसमेत सहज छैन। सुरुङभित्र वाकीट्वाकीले काम नगरेपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। सुरुङभित्र फसेका व्यक्तिलाई बाहिर ल्याउन कतिपय स्थानमा उद्धारकर्ताले घिस्रिँदै गएर तान्दै ल्याउनुपर्ने अवस्था रहेको बताइएको छ।

यसैबीच सुरुङभित्रबाट निकालिएको शवको पहिचानका लागि आफन्त तथा स्थानीयलाई समेत बोलाइएको छ। सुरुङबाट उद्धार गरिएका व्यक्तिलाई चिन्न सहज होस् भनेर घटनास्थलमा भेला भएका आफन्त तथा स्थानीयलाई उनीहरूलाई हेर्न दिने व्यवस्था पनि गरिएको छ। उद्धार कार्य जारी रहेकाले सुरुङभित्र अझै कति व्यक्ति रहेका छन् भन्नेबारे यकिन विवरण आउन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७