आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्णमन्दिरमा भक्तजनको भीड


२०८३ भदौ १९ शुक्रबार ०८:४६ बजे
तस्बिरः फोटो सर्भिस नेपाल

काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाउँदैछन्।

धार्मिक मान्यताअनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको थियो। त्यसैले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ। जन्माष्टमीका अवसरमा देशभरका कृष्णमन्दिरमा विशेष पूजाआराधना, प्रवचन, भजनकीर्तन तथा धार्मिक कार्यक्रम भइरहेका छन्। भक्तजनले व्रत बस्ने र रातभर जाग्राम रहने परम्परा पनि छ।

भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णले अन्याय, अत्याचार तथा आसुरी प्रवृत्तिको अन्त्य गर्दै सत्य र सत्कर्मको मार्गमा अघि बढ्न मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थमा उल्लेख छ। कुरुक्षेत्रको युद्धमा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमद्भागवतगीता’का रूपमा प्रसिद्ध छ। हिन्दू धर्मावलम्बीका लागि पवित्र ग्रन्थ मानिने गीतालाई विश्वका विभिन्न भाषामा अनुवाद गरिएको छ।

पौराणिक कथाअनुसार श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाएका थिए। उनले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको धार्मिक ग्रन्थमा उल्लेख छ।

जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्ने गरेको छ। त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ।

काठमाडौं उपत्यकाका विभिन्न कृष्णमन्दिरमा बिहानैदेखि भक्तजन दर्शन तथा पूजाआराधनाका लागि पुगेका छन्। विभिन्न धार्मिक संघसंस्थाले कृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत आयोजना गर्ने गरेका छन्।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७