भूतपूर्व गोर्खामाथि कहालीलाग्दो संगठित ठगी

बेलायत, हङकङ र नेपालमा फैलिएको संगठित ठगीको गिरोहमा कर्मचारी र प्रहरीको समेत संलग्नता रहेको पिडितहरुको गुनासो ।


२०८३ भदौ १२ शुक्रबार १४:३५ बजे

काठमाडौं : भूतपूर्व गोर्खा सैनिक भगतकुमार राई बेलायतमा दोस्रो करिअरमा व्यस्त छन् । एक दिन बेलायत बस्ने अजय गौतम रेमिट्यान्स (विप्रेषण) प्रचार गर्दै राईको घरसम्म पुग्छन् । गौतमले सहज हिसाबले नेपालको खातामा पैसा जम्मा गरिदिने भन्दै मार्केटिङ गर्छन् ।

खोटाङ स्थायी घर भई बेलायतमा बसोबास गरिरहेका भूतपूर्व सैनिक राईले गौतमलाई विश्वास गरेर १८ असोज २०८१ मा घरायसी प्रयोजनका लागि नेपाल पठाउन ५ लाख ११ हजार ५ सय नेपाली रुपैयाँ बराबरको बेलायती पाउन्ड दिन्छन् ।

बेलायत बस्ने अजय गौतम पैसा उपलब्ध गराएपछि उनको नेपालस्थित प्रतिनिधि राजु शर्मा भण्डारीले नबिल बैंकमार्फत भगत कुमार राई र सबित्री राईको गोर्खाज फाइनान्स लिमिटेडको खातामा ५ लाख ११ हजार ५ सय रुपैयाँ जम्मा गरिदिए ।

सोही पैसा अजय गौतमकै आफन्त पर्ने समिक्षा गौचन (बागलुङ, वडिगाड–०५, हाल काठमाडौं) ले राजु शर्मा भण्डारीलाई बेलायत जाने प्रयोजनका लागि दिएको भन्दै उजुरी गरिन्छ । सोही आधारमा भगत कुमार राई र सबित्री राईविरुद्ध उजुरी दर्ता हुन्छ ।

बेलायतमा रहेका गौतम, जसले राईलाई आफ्नो यही परिचय पत्र छोडेका थिए ।

राईले २०८१ सालमा गौतमलाई पैसा दिएका थिए । तर २०८३ सालमा आफूविरुद्ध नेपालमा उजुरी भएको थाहा पाएपछि राई चकित भए । उनी नेपाल आउन पाएका छैनन् । आफूविरुद्ध उल्टै ठगीको आरोप लागेको थाहा पाएपछि उनले आफन्तामार्फत गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा उजुरी दिएका छन् । सरकारी संरचनासमेतको दुरुपयोग गरिएको जानकारीपछि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन् ।

पैसा दिनेहरुलाई ठग दाबी गरेर दिएको उजुरी ।

 

रकम जम्मा भएको केही समयपछि, अजय गौतमकै आफन्त पर्ने समिक्षा गौचन (बागलुङ, वडिगाड–०५, हाल काठमाडौं) ले वैदेशिक रोजगार विभाग, ताहाचलमा श्री अजय गौतमविरुद्धमा उजुरी दर्ता गराउँछिन् ।

यता अजय गौतमले आफूले त्यसबापत राजु शर्मा भण्डारीमार्फत भगत कुमार राई र सबित्री राई, सलिता गुरुङलगायत एक दर्जन बढीको खातामा पैसा जम्मा गरिदिएको दाबी गर्छन् । त्यही उजुरी आधारमा बेलायतमा पैसा जम्मा गरिदिनेविरुद्ध नै उजुरी गरिएको छ । अब यहाँनिर बेलायतमा बस्ने गौतम, श्री राजु शर्मा भण्डारी र समिक्षा गौचन (कतै प्रहरीको निवेदनमा गौतम भनेर उल्लेख गरिएको) तीनजनाको मिलेमतो र सेटिङ स्पष्ट हुन्छ ।

यस घटनामा बेलायतमा रहेका अजय गौतम, नेपालमा रकम जम्मा गर्ने भनिएका राजु शर्मा भण्डारी र उजुरीकर्ताका रूपमा उल्लेख गरिएकी समिक्षा गौचनलाई पक्राउ गरेर अनुसन्धान गर्दा ठगीको ठूलो श्रृखला बाहिर आउने पिडितहरुको भनाई छ ।

उही कथा खगी गुरुङको पनि
यही कथासँग मिल्दोजुल्दो अर्को घटना ८६ वर्षीया खगी गुरुङसँग जोडिन्छ । दुई दशकदेखि बेलायतमा बस्दै आएकी खगी क्यान्सरबाट निको भएकी हुन् । नेपालमा उपचार गराएपछि उनी पुनः बेलायत फर्किएकी थिइन् । नेपालमा रहेका छोराहरूलाई सहयोग गर्ने उद्देश्यले उनले ५ लाख रुपैयाँ पठाउने निर्णय गरिन् ।

तर, बैंकिङ माध्यम प्रयोग गर्नुको सट्टा उनले बेलायतमा रहेका योगेन्द्रबहादुर साउदमार्फत हुन्डीको माध्यम रोजिन् । साउदले बेलायतमा रकम बुझेपछि नेपालमा रहेका आफ्ना सम्पर्क व्यक्ति बिनोद बुढाथोकीमार्फत उनका छोरा चेतबहादुर गुरुङको खातामा रकम जम्मा गराएको परिवारको भनाइ छ । एक वृद्ध आमाले छोरालाई पठाएको पाँच लाख । तर, यही रकम केही समयपछि छोराका लागि कानुनी समस्या बन्यो ।

उल्टै चेतबहादुरविरुद्ध ठगीको आरोपमा उजुरी परेको बताइएको छ। उजुरीमा आफूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा लिएको तर काम नगरेको दाबी गरिएको परिवारको भनाइ छ। उल्टै उनीविरुद्ध ठगीको आरोप लागेको छ । उजुरीमा आफूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा लिएको तर काम नगरेको दाबी गरिएको भनिएको छ ।

उल्टै गोर्खाहरूलाई ठग बनाउने गरी गरिएको उजुरी, यो उजुरी पर्नासाथ कर्मचारी र प्रहरीले पहिलो प्राथमिकता दिने गरेका छन् ।

विना अपराध जेलमा

कथा गुरुङ राईको मात्रै होइन, यो सयौँ भूतपूर्व गोर्खाहरूको हो । उजुरी मात्रै होइन, धेरै गोर्खाहरूले संगठित ठगीको जालोमा परेर जेलसमेत पुगेका छन् । केही समयअघि मात्रै भूतपूर्व गोर्खा मेजर योगेश राई पनि यही ठगीको शृङ्खलामा परेर पक्राउ परे । बिना अपराध २१ लाख तिरेर निस्किए । गोर्खा मेजरजस्तो सम्मानित व्यक्तिलाई यसरी शृङ्खलाबद्ध रूपमा ट्र्यापमा पारियो, त्यो कहालीलाग्दो रहेको उनका एक आफन्ताले बताए ।

गोर्खा मेजर राई गोर्खा समुदायमा प्रतिष्ठित व्यक्ति हुन्। उनका आफन्त भन्छन्, ‘उहाँजस्तो सम्मानित व्यक्तिलाई समेत राज्य संयन्त्रकै संलग्नतामा भएको संगठित ठगीमा पारिएको सुन्दा हामीलाई निकै दुःख लागेको छ।’ भूतपूर्व गोर्खा आइतसिंह राई पनि यही समस्या भोगिरहेका छन् ।

पीडा बोकेर संसदहरुलाई गुहार

प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, जसको बुवा पनि भूतपूर्व गोर्खा हुन् । यसरी ठगिएकाहरू आफ्नो सम्पर्कमा पनि धेरै आएको सांसद राईले बताए । सांसदहरूको टोली बनाएर गृहमन्त्री र प्रधानमन्त्रीलाई जानकारी गराउने तयारी रहेको उनले बताए । 

एउटा गिरोहले सरकारी संयन्त्रलाई नै दुरुपयोग गरी निर्दोष गोर्खा सैनिकहरूलाई आर्थिक र मानसिक रूपमा कंगाल बनाइरहेको तथ्य देखिएको सांसद राईको भनाइ छ । उनले भने, ‘यसमा वैदेशिक रोजगार विभागका कर्मचारी र प्रहरीहरूको पनि संगठित संलग्नता देखिन्छ ।’

पछिल्लो समय बेलायत र हङकङमा रहेका पूर्व गोर्खा सैनिक र नेपालीहरूलाई लक्षित गरी एउटा संगठित गिरोहले ‘दोहोरो ठगी र संगठित’ को धन्दा चलाइरहेको गुनासो आफूले पाएका अर्का सांसद ध्रुवराज राईले बताए । उनले भने, ‘यसको ठगी निकै खतरनाक छ, उनीहरू सुरुमा आकर्षक रेमिट्यान्समार्फत रकम साट्ने प्रलोभन देखाउँछन् । बेलायतमा पैसा लिन्छन् । त्यो रकम नेपालस्थित उनीहरूको एजेन्टको खातामार्फत खातामा जम्मा गरिन्छ । त्यही जम्मा गरिएको पैसालाई ‘वैदेशिक रोजगारमा पठाउने भनी ठगी गरेको’ भनी उनीहरूले नै सरकारी निकायमा झुटा उजुरी हाल्ने गरेका छन् । यही ठगीमा केही अवकाश प्राप्त गोर्खा मेजरहरू लामो समय थुनिएर लाखौँ रकम तिरेर निस्किएका छन् ।’

प्रहरीले गरेको पत्रचार

‘सरकारी संयन्त्रकै दुरुपयोग’
भूतपूर्व गोर्खा सैनिक भगतकुमार राईका आफन्त राजकुमार राईले अजय गौतम (बेलायत निवासी), राजु शर्मा भण्डारी (नेपाल प्रतिनिधि), समिक्षा गौतम (उजुरीकर्ता, बागलुङ), युवा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंका केही कर्मचारीमाथि छानबिनको मागसहित उजुरी दिएका छन् ।

राईका अनुसार हेलो सरकारमा दिइएको उजुरी सम्बन्धित मन्त्रालय र विभागमा पठाइएको जानकारी आएको छ । अख्तियारमा पनि उजुरी दिएको र छानबिन हुने उनको विश्वास छ । गृहमन्त्री सुधन गुरुङलाई सामूहिक रूपमा भेटेर ठगीको शृङ्खलाबारे बताउन समय लिन खोजिरहेका आफन्तहरूले बताएका छन् ।

विभागको पत्रचार

अख्तियारका एक उच्च अधिकारीका अनुसार यो ठगीमा कर्मचारी र प्रहरीको पनि संगठित समूह रहेको छ । यस्ता केही घटना छन्, जहाँ भूतपूर्व गोर्खाहरू बेलायतबाट नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ पर्छन् । पक्राउ परेकाहरूलाई हतार–हतार पैसा तिराएर निकालिन्छन् ।

गृह मन्त्रालय र अख्तियारले पुराना घटनासमेतका आधारमा अनुसन्धान गर्नुपर्ने सांसद राईको भनाइ छ । पीडितहरू भन्छन्, ‘कुन लाहुरे कहिले नेपाल आउँछन्, त्यो सबै थाहा हुन्छ । विभागदेखि विमानस्थलसम्म संगठित समूह रहेको देखिन्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७