संखुवासभामा भरुवा बन्दुक हानेर शिक्षकको हत्या
संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ । मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको भरुवा बन्दुक प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार गएराति करिब ७ बजे शिक्षक राईमाथि गोली प्रहार भएको हो । गोली लागेर उनको देब्रे कोखमा चोट लागेको र रगत बगेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
राई कालिका माध्यमिक विद्यालयमा बस्दै आएका थिए । खाना खाएर हात धुन बाहिर निस्किएका बेला उनीमाथि भरुवा बन्दुक प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बन्दुक पड्किएको आवाजसँगै शिक्षक राई ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईले बताएको प्रहरीले जनाएको छ । विद्यालयनजिकैबाट राईमाथि गोली प्रहार भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । शिक्षक राईमाथि गोली प्रहार गर्ने व्यक्ति र घटनाको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ ।
.gif)

.png)

