बाढीपीडित १५ पालिकालाई साढे १३ करोड, राहत कोषमा ७ अर्बभन्दा बढी


२०८३ भदौ १७ बुधबार १८:३८ बजे

काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले दुई चरणमा उक्त रकम स्थानीय तहमा पठाएको हो। 

भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते थप ६ करोड ५० लाख गरी कुल १३ करोड ५० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ। बाढी आएलगत्तै सरकारले रसुवा र नुवाकोटका लागि एक–एक करोड तथा धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसपछि प्रभावित स्थानीय तहका लागि थप रकम निकासा गरिएको हो।

प्राधिकरणका अनुसार रसुवाका उत्तरगया गाउँपालिकालाई एक करोड ५० लाख, गोसाईंकुण्ड गाउँपालिकालाई दुई करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई ४० लाख रुपैयाँ दिइएको छ। नुवाकोटका विदुर नगरपालिकालाई तीन करोड, बेलकोटगढी नगरपालिकालाई एक करोड ५० लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई एक करोड रुपैयाँ निकासा गरिएको छ।

धादिङका गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक गाउँपालिकालाई ४० लाख, गजुरी गाउँपालिकालाई ४० लाख तथा बेनिघाट रोराङ गाउँपालिकालाई ४० लाख रुपैयाँ दिइएको छ। त्यस्तै, गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँका देवघाट र आँबुखैरनी गाउँपालिकालाई ४०–४० लाख रुपैयाँ निकासा भइसकेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप एक करोड रुपैयाँ निकासा गरिएपछि कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७