भोटेकोशी बाढी : १ हजार ४५१ शव फेला
१ हजार २९२ शव व्यवस्थापन
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मृत्यु हुनेको संख्या १ हजार ४५१ पुगेको छ। नेपाल प्रहरीले सोमबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित विभिन्न जिल्लाबाट १ हजार ४४९ शव फेला परेको र काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको जनाएको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३६७ वटा फेला परेका छन्। यस्तै रसुवामा २३६, नुवाकोटमा २०३, धादिङमा ७२, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका क्रममा मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डीएनए नमुना सङ्कलन गरिएको छ।
यसैबीच पहिचान हुन नसकेका १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। पहिचान प्रक्रिया सहज बनाउन शवको विवरण तथा डीएनए परीक्षणलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार अझै ४ हजार ६५५ जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी छ। यस्तै, विभिन्न जिल्लामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा हाल १ हजार ३४२ जना राखिएका छन्। प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै विस्थापितहरूको व्यवस्थापन र राहत वितरणलाई समेत निरन्तरता दिएको जनाएको छ।
.gif)

.png)

