मुगु खानेपानीका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बत्ती विस्तारको कामभन्दा बढी मूल्याङ्कन गरी ९ लाख भुक्तानी


२०८३ असोज १४ बुधबार १६:३३ बजे
फाइल फोटो

काठमाडौं :  खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। 

हुम्ला र मुगुको सीमामा बत्ती विस्तारका लागि विनियोजित रकममा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी ९ लाख २६ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल, तत्कालीन सब–इन्जिनियर विश्वराज भण्डारी, लेखापाल रूनबहादुर सेजुवाल, सोरू गाउँपालिका–३ का तत्कालीन वडाध्यक्ष लालु धामी तथा उपभोक्ता समितिका चार पदाधिकारीविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आर्थिक वर्ष २०७७/७८ मा हुम्लाको अदानचुली गाउँपालिका–कुकुर फाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३ भिईसम्म बत्ती विस्तारका लागि सञ्चालन गरिएको योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरिएको आयोगले जनाएको छ।

नापी किताब, कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल तथा योजना अनुगमन र भुक्तानीका लागि दिइएको सिफारिससमेतका कागजातमा वास्तविक कामभन्दा बढी रकम देखाएर भुक्तानी गरिएको अख्तियारको आरोप छ।

आयोगले वास्तविक रूपमा भएको कामभन्दा बढी रकम देखाई ९ लाख २६ हजार २३२ रुपैयाँ ७५ पैसा भुक्तानी गरी गराई सरकारी तथा सार्वजनिक संस्थालाई गैरकानुनी हानि पुर्‍याएको आरोप लगाएको छ।

मुख्य कसुरदारका रूपमा कार्यालय प्रमुख रिमाल, सब–इन्जिनियर भण्डारी, लेखापाल सेजुवाल र तत्कालीन वडाध्यक्ष धामीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) अनुसार बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ। 

रिमाल, भण्डारी र धामीविरुद्ध झुट्टा विवरण तथा प्रतिवेदनसम्बन्धी दफा १९(२) अन्तर्गतसमेत सजायको मागदाबी गरिएको छ।

त्यस्तै, गल्फागाढ छहराखेत भिई जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदिप बुढा, उपाध्यक्ष भिमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीलाई मुख्य कसुरदारलाई सघाउने मतियारका रूपमा अभियोजन गरिएको छ।

उनीहरूविरुद्ध मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७