रारा चाउचाउको एक ब्याचमा देखियो कैफियत, बजारबाट फिर्ता गर्न विभागको आदेश
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा न्यूनस्तरको पुष्टि भएपछि रारा ब्रान्डको तयारी चाउचाउको एक ब्याच बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।
विभागले नियमित बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार गुणस्तर कायम नभएको पाइएको जनाएको छ।
विभागका अनुसार कास्कीको पोखरा औद्योगिक क्षेत्रमा रहेको हिमश्री फुड्स प्रा.लि.ले उत्पादन गरेको ६० ग्रामको रारा तयारी चाउचाउ, ब्याच नम्बर ‘आरईजी ०१’ र उत्पादन मिति ५ फेब्रुअरी २०२६ भएको उत्पादन फिर्ता गर्न आदेश दिइएको हो।
उक्त चाउचाउको उपभोग्य अवधि उत्पादन मितिबाट १२ महिना उल्लेख गरिएको छ तर, बजारबाट संकलित नमुना परीक्षण गर्दा निर्धारित मापदण्डअनुसार गुणस्तर नभएको पाइएपछि विभागले उक्त ब्याचलाई न्यूनस्तरको ठहर गरेको हो।
विभागले सम्बन्धित ब्याचका चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न उत्पादकलाई निर्देशन दिएको छ। साथै बिक्री, भण्डारण तथा वितरणमा संलग्न पक्षलाई उक्त उत्पादन बिक्री–वितरण नगर्न र नगराउन आदेश दिएको छ।
बजारमा पुगिसकेको उत्पादन उपभोक्ताबाट समेत फिर्ता गर्नुपर्ने विभागको आदेशमा उल्लेख छ। फिर्ता गरिएको परिमाणसहित त्यससम्बन्धी कार्यको लिखित प्रमाण विभागमा बुझाउनसमेत निर्देशन दिइएको छ।
आदेश कार्यान्वयन नगर्ने वा नगराउने पक्षलाई प्रचलित खाद्यसम्बन्धी कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ। विभागले बजारमा बिक्री हुने खाद्य वस्तुको नियमित अनुगमन र गुणस्तर परीक्षण गर्दै आएको छ। रारा चाउचाउको सम्बन्धित ब्याच मात्र न्यूनस्तरको पुष्टि भएको विभागको आदेशले जनाएको छ।
.gif)

.png)


