सरकारलाई सुरक्षा निकायको ब्रिफिङ : दसैँतिहारपछि ठूलो आन्दोलनको हुन सक्छ
काठमाडौं : चाडपर्व सकिएपछि काठमाडौं केन्द्रित आन्दोलन हुन सक्ने भन्दै सुरक्षा निकायले सरकारलाई सम्भावित सुरक्षा चुनौतीबारे जानकारी गराएका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पछिल्लो समय बढेको असन्तुष्टि, विभिन्न समूहका गतिविधि तथा सम्भावित प्रदर्शनबारे सरकारलाई जानकारी गराउँदै आएको सुरक्षा स्रोतहरूको दाबी छ।
सिरहाको औरही गाउँपालिकामा भदौ २७ गते शिक्षामन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा भएको होहल्लालाई पनि पछिल्लो असन्तुष्टिको एउटा घटनाका रूपमा सुरक्षा निकायले हेरेको स्रोतको भनाइ छ।
उक्त कार्यक्रममा विवाद भएपछि मन्त्री पोखरेलले सम्बोधन बीचमै रोकेर कार्यक्रमस्थल छाडेका थिए। घटनाको कारणबारे भने विभिन्न विवरण सार्वजनिक भएका छन्।
मन्त्री पोखरेलले भने दुई जनाले हल्ला गरेपछि शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफू कार्यक्रमबाट बाहिरिएको बताएका छन्।
दसैँ, तिहार र छठ जस्ता ठुला चाडपर्वपछि राजनीतिक तथा सामाजिक असन्तुष्टि प्रदर्शनमा परिणत हुन सक्ने आकलन सुरक्षा स्रोतले गरेको छ। प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूले गृहमन्त्री सुधन गुरुङलाई यसबारे जानकारी गराएको स्रोतको दाबी छ।
सम्भावित आन्दोलनबारे ‘मौखिक रिपोर्ट’ समेत भएको एक उच्च सुरक्षा अधिकृतले बताएका छन्। सुरक्षा अधिकारीहरूले भने अहिले चाडपर्व र खेतीको मौसमका कारण तत्काल ठूलो प्रदर्शनको सम्भावना कम रहेको र त्यसपछि परिस्थिति बदलिन सक्ने आकलन गरेका छन्।
राष्ट्रिय अनुसन्धान विभागले पनि कात्तिकपछि आन्दोलन हुन सक्ने सम्भावनाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित सुरक्षा निकायलाई लिखित रिपोर्ट बुझाएको सुरक्षा स्रोतको दाबी छ।
सुरक्षा रिपोर्टमा पछिल्लो राजनीतिक तथा सामाजिक असन्तुष्टि, विभिन्न समूहका गतिविधि र सम्भावित प्रदर्शनबारे विश्लेषण गरिएको बताइएको छ। विभागले यसअघि पनि दैनिक तथा साप्ताहिक रूपमा सुरक्षा अवस्थासम्बन्धी सूचना र विश्लेषण सम्बन्धित निकायलाई पठाउँदै आएको स्रोतको भनाइ छ।
सुरक्षा निकायले विभिन्न समूहका गतिविधि, सामाजिक तथा सामुदायिक तनाव, हिंसात्मक गतिविधिको सम्भावना र सार्वजनिक सुरक्षासँग सम्बन्धित सूचनासमेत संकलन गरिरहेको बताइएको छ।
यसअघि पनि २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनअघि राष्ट्रिय अनुसन्धान विभागले विभिन्न निकायलाई रिपोर्ट पठाएको विवरण सार्वजनिक भएको थियो। त्यसबेला प्राप्त सूचनाको विश्लेषण र सुरक्षा तयारीबारे प्रश्न उठेका थिए।
अहिले भने सुरक्षा निकायले चाडपर्वपछि उत्पन्न हुन सक्ने राजनीतिक तथा सामाजिक गतिविधिलाई निगरानीमा राखेको बताइएको छ। आगामी दिनमा विभिन्न राजनीतिक दल, असन्तुष्ट समूह तथा सामाजिक अभियानका गतिविधिले लिने स्वरूपले सुरक्षा अवस्थाको आकलनमा प्रभाव पार्ने देखिन्छ।
.gif)

.png)


