राहत र उद्धार युद्धस्तरमा अघि बढाउन सरकारलाई रवि लामिछानेको आग्रह


२०८३ असोज ११ आइतबार २१:४२ बजे
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

उनले विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायप्रति आभार व्यक्त गरेका छन्।

लामिछानेले मौसमको प्रतिकूलता तथा विपद्को जोखिम अझै पूर्णरूपमा नटरेको भन्दै नदी तटीय र पहिरोको जोखिममा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत सर्वसाधारणलाई अपिल गरेका छन्। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा थप सावधानी आवश्यक रहेको उनको भनाइ छ।

लामिछानेले प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकको खोजी तथा घाइतेको उपचारलाई ‘युद्धस्तरमा’ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

त्यस्तै, बाढी तथा पहिरोका कारण अवरुद्ध भएका राजमार्ग तत्काल सञ्चालनमा ल्याउन र घरबारविहीन भएका नागरिकका लागि सुरक्षित आवास तथा पुनःस्थापनाको काममा ढिलाइ नगर्न उनले तीनवटै तहका सरकारलाई आग्रह गरेका छन्।

विपद्को अवस्थामा रास्वपाका नेता, सदस्य, शुभचिन्तक तथा र्‍यापिड एक्सन टिमलगायतलाई सम्बन्धित सरकारी निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन हुन लामिछानेले आह्वान गरेका छन्।

उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने काममा पार्टीका नेता तथा कार्यकर्तालाई आमनागरिकको सेवामा समर्पित हुन आग्रह गरेका छन्।

विज्ञप्तिः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७