बाढीपहिरो प्रभावित क्षेत्रबाट ६८४ जनाको उद्धार


२०८३ असोज ११ आइतबार २३:५८ बजे

काठमाडौं :  नेपाली सेनाले अविरल वर्षासँगै आएको पहिरो, बाढी तथा डुबान प्रभावित क्षेत्रबाट ६८४ जनाको उद्धार गरेको छ । सेनाले पर्वत, म्याग्दी, बागलुङ र जाजरकोटका विभिन्न स्थानबाट उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा पहिरोमा फसेका ७८ जनालाई सैनिक हेलिकोप्टरमार्फत उद्धार गरी मुक्तिमार्ग माध्यमिक विद्यालयमा लगिएको छ ।

यस्तै, पर्वत, म्याग्दी र बागलुङबाट ६०२ जनालाई स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४, वडाबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ ।

जाजरकोटको भेरी नगरपालिका–१३, कुदुस्थित भेरी नदीको टापुमा फसेका चार जनालाई पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुक्तिमार्ग माध्यमिक विद्यालय, बागलुङको तमानखोला गाउँपालिकाको सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा सैनिक हेलिकोप्टरमार्फत ९७९ किलो राहत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ ।

सेनाले डडेल्धुराको आलिताल गाउँपालिका–८, भगरियामा अवरुद्ध जोगबुडा–बुडर सडकखण्डबाट पहिरो हटाएर सञ्चालनमा ल्याएको छ । यस्तै, रौतहटको मौलापुर नगरपालिका–१, मर्यादापुरस्थित लालबकैया नदीमा करिब ८० मिटर बाँध मर्मत गरी मजबुत बनाइएको सेनाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७