बाढीको मारमा १७ हजार बालबालिकाः १४ बालबालिकाको मृत्यु, ६ बेपत्ता

स्वास्थ्यदेखि शिक्षासम्म संकट


२०८३ भदौ १५ सोमबार १७:४४ बजे
तस्बिरः अलजजिरा

काठमाडौं : गत भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीमा परी हालसम्म ९०३ जनाको शव फेला परेको छ। मृतकमध्ये कम्तीमा १४ जना बालबालिका रहेको जनाइएको छ भने सयौँ अझै बेपत्ता छन्। अहिले खोज तथा उद्धार जारी रहेकाले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

युनिसेफका अनुसार बाढीका कारण बालबालिकाले घर, परिवार, विद्यालय र समुदाय गुमाएका छन्। यसले उनीहरूको शारीरिक सुरक्षासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ। बाढीपछि रोग, कुपोषण, हिंसा तथा शोषणको जोखिमसमेत बढेको युनिसेफले जनाएको छ। बाढीबाट कम्तीमा चार स्वास्थ्य संस्था गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। दूषित पानी र सरसफाइको अभावका कारण बालबालिकामा विभिन्न रोगको जोखिम बढेको छ।

यसैगरी शिक्षातर्फ १८ विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने थप २० विद्यालयमा क्षति पुगेको छ। करिब १० हजार विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षा निरन्तरताका लागि तत्काल सहयोग आवश्यक रहेको युनिसेफले जनाएको छ। काठमाडौंका विभिन्न अस्पतालमा बाढीबाट घाइते ९ बालबालिका उपचाररत छन्। तीमध्ये पाँच जनाको त्रिवि शिक्षण अस्पताल, तीन जनाको राष्ट्रिय ट्रमा सेन्टर र एक जनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।

प्रभावित बालबालिकाको यकिन तथ्यांक संकलनमा भने चुनौती देखिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार कतिपय प्रभावित स्थानीय तहसँग अझै प्रभावकारी समन्वय र सम्पर्क स्थापित हुन सकेको छैन। युनिसेफले आपत्कालीन प्रतिकार्य तथा प्रारम्भिक पुनर्लाभका लागि १ करोड ७२ लाख अमेरिकी डलर आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ। बाढीपछि राहत र उद्धारसँगै बालबालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा तथा मानसिक पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७