बाढीमा सम्पर्कविहीनको संख्या एकै दिन एक हजार ७४५ बढ्यो


२०८३ भदौ १५ सोमबार १८:१४ बजे

काठमाडौं : तिब्बत हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या एकै दिन १ हजार ७४५ ले बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार रातिसम्म २ हजार ५०२ जना सम्पर्कविहीन रहेकोमा सोमबार यो संख्या बढेर ४ हजार २४७ पुगेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार रसुवा र नुवाकोटबाट थप विवरण प्राप्त भएपछि सम्पर्कविहीनको संख्या ह्वात्तै बढेको देखिएको हो। सोमबार नुवाकोटबाट १ हजार ५५८ र रसुवाबाट ८६५ जना सम्पर्कविहीन रहेको विवरण आएको छ। आइतबारसम्म नुवाकोटबाट ११५ र रसुवाबाट ५६२ जना सम्पर्कविहीन रहेको विवरण थियो। दुई जिल्लाबाट मात्रै एकै दिन १ हजार ७४६ जना थपिएको देखिन्छ।

महतका अनुसार बाढी प्रभावितले ढिला गरी प्रशासनमा विवरण पठाएका कारण पनि संख्या बढेको हो। साथै, पहिचान नभएका शवलाई समेत पहिचान नहुँदासम्म सम्पर्कविहीनकै सूचीमा राखिने भएकाले सार्वजनिक तथ्यांकमा मृतकसमेत समावेश हुन सक्ने उनले बताइन्। जिल्ला प्रशासन कार्यालयअन्तर्गतका आपतकालीन कार्य सञ्चालन केन्द्रले संकलन गरी केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाएको विवरण रुजू तथा भेरिफाइ गरेपछि मात्रै प्राधिकरणले सार्वजनिक गर्ने गरेको छ।

सरकारी निकायबाट आएका आधिकारिक विवरणसमेत समावेश हुने भएकाले एउटै व्यक्तिको विवरण दोहोरिन नदिन भेरिफिकेसनको काम भइरहेको महतले बताइन्। उनका अनुसार नागरिकले समेत विवरण दर्ता गर्न सक्ने ‘सेतु एप’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जिल्लाको सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने बताए। क्षतिको व्यापकताका कारण यकिन विवरण संकलनमा कठिनाइ भइरहेको उनको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७