राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट, बाढी प्रभावित क्षेत्रबारे जानकारी


२०८३ भदौ १५ सोमबार १८:२७ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षति र जारी उद्धार तथा राहत प्रयासबारे जानकारी गराएका छन्।

सोमबार राष्ट्रपति पौडेलसँग भएको भेटमा लामिछानेले बाढी प्रभावित क्षेत्रमा देखिएको अवस्था, जनधनको क्षति तथा प्रभावितको खोजी, उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे जानकारी दिएका हुन्। रास्वपाका अनुसार लामिछानेले त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेट गरेका थिए। 

प्रधानमन्त्रीसँगको भेटमा बाढीपछि सरकारले गरिरहेको संकट व्यवस्थापनबारे जानकारी लिएपछि उनले प्राप्त विवरण र प्रभावित क्षेत्रको अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराएका हुन्। भोटेकोशी नदीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै विभिन्न क्षेत्रमा फैलिँदा ठूलो जनधनको क्षति भएको छ। 

बाढीमा केही नागरिक बेपत्ता छन् भने सडक, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ। भेटमा लामिछानेले विपद्का बेला खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकसम्म राहत पुर्‍याउन आवश्यक समन्वय र पहल गर्नुपर्नेमा जोड दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७