भूपू सैनिकको स्वास्थ्यदेखि यातायात सुविधासम्म विस्तार गर्छौंः भारतीय सेना प्रमुख सेठ
‘भूतपूर्व सैनिकले आफूलाई कहिल्यै एक्लो नसम्झिनुहोस्, भारतीय सेना साथमा छ’
पोखरा : भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक तथा उनीहरूका परिवारको कल्याण, स्वास्थ्य सेवा र सुविधाका लागि भारतीय सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। पोखरामा बुधबार आयोजित पेन्सन क्याम्पमा भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई सम्बोधन गर्दै सेठले भूतपूर्व सैनिकहरू भारत–नेपाल सम्बन्धका जीवन्त प्रतिनिधि भएको बताए।
उनले पोखरास्थित एक्स–सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम (ईसीएचएस) पोलिक्लिनिकमा थप स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा त्यसलाई आधुनिक बनाउने पहल गरिने बताए । उनले भने, ‘तपाईंहरूको हित, वेल्फेयर र सुविधाका लागि जे-जति सम्भव हुन्छ, हामी पूरा निष्ठा र समर्पणका साथ गर्नेछौँ। तपाईंहरूले आफूलाई कहिल्यै एक्लो नसम्झिनुहोस् । भारतीय सेना सधैँ तपाईंहरूको साथमा उभिएको छ।’ भूतपूर्व सैनिकले माग गर्दै आएको सुनौलीदेखि गोरखपुरसम्म बस सेवा सञ्चालनबारे पनि गम्भीरतापूर्वक विचार भइरहेको उनले जानकारी दिए। यस्तो सुविधा भए ईसीएचएसलगायत स्वास्थ्य सेवा लिन उनीहरूलाई सहज हुने उनको भनाइ थियो।
नेपालमा सन् २०१४ देखि ईसीएचएस सञ्चालनमा रहेको उल्लेख गर्दै सेठले भारत र नेपालका विभिन्न अस्पतालमा भूतपूर्व सैनिक तथा परिवारले उपचार सेवा पाइरहेको बताए। ईसीएचएसअन्तर्गत सूचीकृत अस्पतालको संख्या थप विस्तार गर्ने प्रयास भइरहेको उनले जानकारी दिए। पश्चिम नेपालका भूतपूर्व सैनिकलाई लक्षित गर्दै कोहलपुरमा नयाँ ईसीएचएस पोलिक्लिनिक सञ्चालनमा ल्याइएको उनले बताए । साथै, भूतपूर्व सैनिकका परिवारलाई कम्प्युटर, ब्युटिसियन र फेसन डिजाइनिङलगायत सीपमूलक तालिम दिइरहेको जानकारी दिए।
भारत–नेपाल सम्बन्ध संस्कृति, परम्परा, धार्मिक आस्था र इतिहाससँग जोडिएको उल्लेख गर्दै सेठले भारतीय र नेपाली सेनाबीचको सम्बन्ध पनि यही ऐतिहासिक सम्बन्धको महत्वपूर्ण हिस्सा रहेको बताए। गोर्खा सैनिकको वीरता, बहादुरी र बलिदानको प्रशंसा गर्दै उनले भूतपूर्व सैनिकप्रति भारतीय सेनालाई गर्व रहेको बताए। सेनाध्यक्षका रूपमा आफ्ना पाँच प्राथमिकता—सतर्कता तथा तत्परता, नवप्रवर्तन तथा रूपान्तरण, संयुक्तता, आत्मनिर्भरता र योद्धा—बारे पनि उनले जानकारी दिए।
कार्यक्रमको अन्त्यमा उनले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई धन्यवाद दिँदै ‘जय हिन्द, जय नेपाल, जय भूपू’ भन्दै सम्बोधन टुंग्याए।
.gif)

.png)

