भारतले टनेल रेस्क्यु र स्वास्थ्यकर्मी पठाउने
काठमाडौं : भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा टनेल रेस्क्यु टिम र स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नियमित पत्रकार सम्मेलनमा नेपालको अनुरोधअनुसार टनेल उद्धार टोली पठाउन लागिएको जानकारी दिएका हुन्। उनले उद्धारका लागि आवश्यक सामग्री तथा उपकरणको अवस्था बुझ्न त्यसअघि रेक्की टोली नेपाल पठाइने बताए।
भारतले त्यसका साथै नेसनल डिजास्टर रेस्पोन्स फोर्स (NDRF) का उद्धारकर्मी नेपाल पठाउने प्रस्तावसमेत गरेको छ। यस विषयमा नेपाल सरकारको जवाफको प्रतीक्षामा रहेको जैसवालले बताएका छन्। नेपालले बाढीपहिरो प्रभावित क्षेत्रमा सडक तथा पुल क्षतिग्रस्त भएपछि उद्धार र राहत कार्यका लागि भारत तथा चीनसँग ४२ वटा बेलिब्रिज उपलब्ध गराउन आग्रह गरेको थियो। जैसवालले भारतको एउटा बेलिब्रिज नेपालमै रहेको र त्यसलाई प्रयोग गर्न सकिने जानकारी दिएका छन्।
यसैबीच भारतले नेपालमा थप राहत सामग्री पठाउने तयारी गरेको छ। जैसवालका अनुसार शुक्रबार साँझसम्ममा करिब १३ टन राहत सामग्री बोकेको तेस्रो विमान काठमाडौं पठाउने तयारी गरिएको छ। भारतले यसअघि पनि राहत सामग्रीसहितका दुई विमान नेपाल पठाइसकेको जनाएको छ। भारतले नेपालमा जारी उद्धार तथा राहत प्रयासका लागि हालसम्म ४७ टनभन्दा बढी आपत्कालीन राहत सामग्री पठाइसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
यस्तै, नेपालबाट उद्धार गरिएका तमिलनाडुका २१ जना भारतीय नागरिक दिल्ली पुगेका जैसवालले जानकारी दिए। यसअघि त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ६३ जना भारतीय नागरिकको समेत उद्धार गरिएको थियो। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा जारी उद्धार कार्यमा सहयोग गरेको भन्दै नेपाली सेना र नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।
भारतले नेपालमा रहेका आफ्ना नागरिकको खोजी तथा उद्धारका लागि काठमाडौंस्थित भारतीय दूतावास र विदेश मन्त्रालयमा चौबीसै घण्टा सम्पर्क संयन्त्र सञ्चालन गरिरहेको जनाएको छ। पछिल्लो विवरणअनुसार नेपालमा अझै ठूलो संख्यामा भारतीय नागरिक सम्पर्कविहीन छन्
.gif)

.png)

