जिरोङ क्षेत्रमा थप वर्षाको सम्भावना, ब्यारियर लेकमा पानी बढ्ने चेतावनी


२०८३ भदौ १५ सोमबार १६:३९ बजे

काठमाडौं : चीनको मौसम विज्ञान प्रशासनले जिरोङ क्षेत्रमा सोमबार थप वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडक चिप्लो हुन सक्ने भएकाले सावधानी अपनाउन चेतावनी दिइएको छ।

मौसम पूर्वानुमानअनुसार जिरोङ क्षेत्रमा तापक्रम ४६ डिग्री फरेनहाइट अर्थात् करिब ८ डिग्री सेल्सियससम्म झर्न सक्नेछ। दिन र रातको तापक्रममा उल्लेख्य अन्तर हुने तथा मौसम चिसो र ओसिलो रहने प्रशासनले जनाएको छ। दक्षिणपूर्वी तिब्बतका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पनि मौसम विज्ञान प्रशासनले जनाएको छ।

निरन्तर वर्षाका कारण यसअघि पहिरोबाट बनेको ब्यारियर लेकमा पानीको सतह थप बढ्न सक्ने चेतावनी दिइएको छ। तालमा पानीको मात्रा बढेर बाहिर निस्किएमा थप बाढीको जोखिम निम्तिन सक्ने भएकाले उद्धार तथा राहत अभियानमा समेत चुनौती थपिन सक्ने देखिएको छ। यही जोखिमका कारण चीनले यसअघि जिरोङ क्षेत्रमा सञ्चालन भइरहेको उद्धार अभियान केही समयका लागि स्थगित गरेको थियो।

यसअघि पहिरो र बाढीबाट नेपाल–चीन सीमामा रहेको जिरोङ बन्दरगाह क्षेत्र प्रभावित भएको थियो। मौसम थप प्रतिकूल बन्ने सम्भावनाले प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यमा थप कठिनाइ उत्पन्न हुन सक्ने चिन्ता बढेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७