रसुवा बाढीको भयावह तस्वीर : ७९ सुरक्षाकर्मीसहित ४७७ जना सम्पर्कविहीन


२०८३ भदौ १० बुधबार १७:२९ बजे
रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटको देविघाट आसपासमा मच्चाएको वितण्डा । तस्बिर : एपी तोलाङ/नेपाल फोटो सर्भिस

काठमाडौं : रसुवामा बुधबार बिहान आएको अकस्मात् बाढीपछि सुरक्षाकर्मी, भन्सार कर्मचारी तथा स्वदेशी–विदेशी पर्यटकसहित ४७७ जना सम्पर्कविहीन भएका छन्। बाढीपछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा नागरिक तथा सुरक्षाकर्मीसँग सम्पर्क टुटेको हो। सम्पर्कविहीनमध्ये ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी तथा ३८४ जना स्वदेशी र विदेशी पर्यटक रहेका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधिसभा बैठकमा दिएको जानकारीअनुसार नेपाल प्रहरीका २६ जना र सशस्त्र प्रहरीका नौ जना सम्पर्कविहीन छन्। नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मीसँग सम्पर्क हुन नसकेको उनले बताएका छन्। यसैगरी रसुवागढी भन्सार कार्यालयका १४ जना कर्मचारी सम्पर्कविहीन रहेको अर्थ मन्त्रालयले जनाएको छ। कार्यालयमा ३६ स्थायी दरबन्दी रहेकामा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना स्थायी कर्मचारी सम्पर्कमा आएका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार भन्सार कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएका छन्। बाँकी ११ जना स्थायी र तीन जना करार तथा ज्यालादारी कर्मचारी गरी १४ जनाको खोजी भइरहेको छ।

३८४ पर्यटक सम्पर्कविहीन

बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा रहेका ३८४ जना पर्यटकसँग समेत सम्पर्क हुन सकेको छैन। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली छन्। बोर्डका अनुसार सम्पर्कविहीन विदेशी पर्यटकमध्ये १०५ जनाभन्दा बढी भारतीय नागरिक रहेका छन्। ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी पर्यटकको विवरण संकलन गरिएको बोर्डले जनाएको छ।

बुधबार बिहान करिब साढे ८ बजेतिर चीनको तिब्बत क्षेत्रबाट अचानक आएको बाढी भोटेकोसी नदीमा प्रवेश गरेको थियो। एक्कासि आएको बाढीको तीव्र बहावले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा सरकारी संरचनामा क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खोज तथा उद्धारमा परिचालित छन्।

सम्पर्कविहीनहरूको संख्या ठूलो रहेकाले उनीहरूको वास्तविक अवस्था पत्ता लगाउन सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सरकारी निकायले खोजी र उद्धारलाई तीव्रता दिएका छन्। बाढी प्रभावित क्षेत्रमा सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले उद्धार तथा खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७