त्रिशूली बाढीको कहर : १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडकमा क्षति

सडक–पुलको संरचना ध्वस्त, तत्काल यातायात सञ्चालन चुनौतीपूर्ण


२०८३ भदौ १० बुधबार १६:२३ बजे
रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटको देविघाट आसपासमा मच्चाएको बितण्डा । तस्बिर : एपी तोलाङ/नेपाल फोटो सर्भिस

काठमाडौं : त्रिशूली नदीमा आएको भीषण बाढीले नदी करिडोर तथा आसपासको सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। बाढी र पहिरोका कारण कम्तीमा १९ वटा पुल क्षतिग्रस्त भएका छन् भने करिब ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्किएको तथा बगाएको सडक विभागले जनाएको छ। सडक र पुलमा ठूलो क्षति पुगेपछि नदी करिडोर हुँदै हुने यातायात आवागमन प्रभावित बनेको छ। कतिपय स्थानमा सडकको जग नै बगाएकाले तत्काल यातायात सञ्चालन गर्न कठिन देखिएको विभागले जनाएको छ।

बाढीपछि अवरुद्ध सडक खुलाउन तथा क्षतिग्रस्त संरचनाको अस्थायी मर्मत गर्न सडक विभागले काम अघि बढाएको छ। पहिरो पन्छाउने, सडकमा थुप्रिएको गेग्रान हटाउने तथा सम्भव भएका स्थानमा अस्थायी रूपमा सडक सञ्चालन गर्ने उद्देश्यले ठूला तथा हेभी मेसिनरी उपकरण परिचालन गरिएको छ। विभागले प्राविधिक टोलीसहित आवश्यक उपकरण संवेदनशील क्षेत्रमा तैनाथ गरी अवरोध हटाउने काम सुरु गरेको जनाएको छ। तर भौगोलिक विकटता, प्रतिकूल मौसम र नदीमा पुनः बाढी आउन सक्ने जोखिमका कारण उद्धार तथा सडक मर्मतको काम चुनौतीपूर्ण बनेको छ।

कतिपय पुलमा गम्भीर क्षति पुगेकाले सामान्य मर्मतबाटै यातायात सञ्चालन गर्न सम्भव नहुने अवस्था रहेको विभागको भनाइ छ। त्यस्ता स्थानमा तत्कालका लागि वैकल्पिक मार्ग वा अस्थायी संरचनाको आवश्यकता पर्न सक्ने देखिएको छ। यसैबीच सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको पछिल्लो अवस्था तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाबारे जानकारी लिएर मात्र यात्रा गर्न विभागले अनुरोध गरेको छ।

बाढी र पहिरोबाट सडक तथा पुलमा भएको क्षतिको विस्तृत विवरण संकलनसँगै अवरुद्ध सडक खुलाउने र सम्भव भएका स्थानमा यातायात सञ्चालन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको विभागले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७